नेपाल पुलिस हेटौँडा गोल्डकपको सेमिफाईनलमा प्रवेश, विजय युथ पराजित, हातपात गरेपछि एकजनालाई रातो कार्ड
मकवानपुर, ६ फागुन । हेटौँडामा जारी तेस्रो हेटौँडा गोल्डकपको आज भएको खेल जित्दै नेपाल पुलिस क्लव सेमिफाईनलमा प्रवेश गरेको छ । पुलिसले विजय युथ क्लब हेटौँडालाई ३–० गोल अन्तरले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो ।
सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा भएको खेलमा पुलिसका लागि खेलको ११ र ४० औं मिनेटमा अभिषेक रिजाल र ५९ औं मिनेटमा रवि पाश्वानले गोल गरेका थिए ।
शुरुदेखि नै दवाव झेलेको घरेलु टोली विजय युथले राम्रो प्रर्दशन गर्न सकेन । खेलको ८१ मिनेटमा विजय युथका मनोज विष्टले पुलिसका प्रिलन तामाङलाई हातपात गरेपछि रातो कार्ड पाएर बाहिरिएसंगै विजय युथ १० खेलाडीमा खेल्न बाध्य भएको थियो । आजको खेलको म्याद अफ दि म्याच पुलिसका अभिषेक रिजाल घोषित भएका छन् । उनले नगद ५ हजार रुपैँया प्राप्त गरेका छन् ।
