हेटौँडामा ८६ केजी गाँजा सहित ४ जना पक्राउ
मकवानपुर, ६ फागुन । प्रदेश नम्बर ३ को राजधानी मकवानपुरको हेटौँडामा फागुन ४ र ५ गते गरि ८६ केजी अवैध लागुऔँषध गाँजासहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक महिला सहित ३ पुरुष रहेका छन् ।
पक्राउ परेकाहरुमा मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ६ का ४५ वर्षीय हरिमाया लो, बाराको निजगढ नगरपालिका वडा नम्बर १२ बस्ने ४२ वर्षीय आईत लामा, चितवन जिल्लाको खैरहनी नगरपालिका वडा नम्बर १० बस्ने सवारी चालक ३२ वर्षीय राजकुमार चौधरी र सोही स्थानका सहचालक १८ वर्षीय निराज चौधरी रहेका छन् ।
पक्राउ परेका मध्ये हरिमाया लोलाई २० किलो गाँजा सहित पक्राउ गरिएको हो । शनिबार दिउँसो विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले लोको घरमा अवैध लागुऔँषध गाँज २० केजी पक्राउ परेपछि उनलाई पक्राउ गरिएको हो ।
त्यस्तै ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको टोलीले हेटौँडा १५ स्थित रातोमाटे चेकपोष्टमा शुक्रबार सवारी जाँचका क्रममा बाँकी ३ जना पक्राउ परेका हुन् । प्रहरीका अनुसार पश्चिमबाट पुर्वतर्फ जादै गरेको फ्रुटी लोड भई आएको ना. ५ ख. ७७०७ नम्बरको कन्टेनरलाई विशेष सूचनाका आधारमा रोकेर जाँच गर्दा ३ वटा बोरामा जम्मा ६६ किलो अबैध लागू औषध गाँजा फेला परेको थियो । गाँजा फेला परेपछि सवारीमा सवार तिनै जनालाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेका चारै जनालाई लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
