वाम पार्टी एकता बारे धैर्य गर्न मोक्तानको आग्रह
मकवानपुर, ६ फागुन । नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य एवं प्रदेश संसदीय दलका उपनेता कुमारी मोक्तानले पार्टी एकताका बारेमा धैर्य गर्न कार्यकर्ताहरुलाई आग्रह गरेकी छिन् ।
शनिबार हेटौंडामा नेकपा माओवादी केन्द्र हेटौंडा नगर कमिटिको सम्मेलनमा बोल्दै प्रमुख अतिथि मोक्तानले पार्टी एकता अघि बढिसकेको भन्दै केन्द्रको निर्देशन अनुसार मात्र अघि बढ्न कार्यकर्ताहरुलाई निर्देशन दिएकी हुन् । ‘पार्टीे एकतालाई असर पर्ने गतिबिधि नगरौं,केन्द्रको निर्देशन पर्खनुहोला’, मोक्तानले भनिन्, ‘अहिले पार्टी संगठलाई सशक्त बनाउने काममा अघि बढौं ।’
सम्मेलनमा बोल्दै नेकपा माओवादी मकवानपुरका संयोजक तथा प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामीले अबको पाँच वर्ष विकास र समृद्धिको काममा ध्यान दिनुपर्ने बताए । ‘राजनीतिक क्रान्तिका धेरै काम पुरा भएका छन्, अब आर्थिक समृद्धिको पाटोमा हामीले काम गर्नुपर्छ’, उनले भने ।
सम्मेलनमा प्रदेशसभा सदस्य तथा युवा नेता ओम घलान,पार्टीे कार्यालय सदस्य कमान सिं पाख्रिन, पार्टी केन्द्रीय सल्लाहकार कौशल पाण्डे, जिल्ला पार्टी नेता भिम पाख्रिन, बाग्मती गाउँपालिका अध्यक्ष सर्केश घलान, बकैया गाउँपालिका ईन्चार्ज लक्ष्मी पाख्रिन, थाहा नगरपालिकाका मेयर लवशेर विष्ट,नेता विष्णु विष्ट(आदर्श), बलराम बल,लयतले मन्तब्य ब्यक्त गरेका थिए ।
सम्मेलन बलराम बलको अध्यक्षतामा भएको हो । कार्यक्रमलाई प्रकाश पाण्डेले संचालन गरेका थिए । सम्मेलननले ५३ सदस्यीय नगर समिति चयन गरेको छ । नगर समितिको फागुन ७ गतेको बैठकले पदाधिकारी चयन गर्ने बताइएको छ ।
