पत्रकार महासंघ मकवानपुरलाई जर्सी हस्तान्तरण
हेटौँडा, ३ फागुन । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठान हेटौंडाले नेपाल पत्रकार महासंघ मकवानपुरलाई जर्सी हस्तान्तरण गरेको छ । महासंघलाई प्रतिष्ठानले बिहीबार एक कार्यक्रमकाबीच जर्सी हस्तान्तरण गरेको हो ।
प्रतिष्ठानका अध्यक्ष भेष खड्गी र कार्यसमिति सदस्य सुविन घिमिरेले पत्रकार महासंघ मकवानपुर सचिव गणेशदर्पण अधिकारी, कार्यसमिति सदस्य सुवास बिडारीसहितको टोलीलाई जर्सी हस्तान्तरण गरेका हुन् । सुमन भोम्जन स्मृति प्रतिष्ठान पत्रकारकै नाममा स्थापना भएको संस्था भएको स्मरण गराउँदै अध्यक्ष खड्कीले आगामी दिनमा पनि पत्रकारको वृद्धिविकास एवम् अन्य रचनात्मक काममा सहयोग निरन्तर जारी रहने बताए ।
पत्रकार महासंघ मकवानपुर र बाराको बिचमा सिमरा गोल्डकप भैरहेको चौरमा शुक्रबार मैत्रीपूर्ण फुटबल हुँदैछ । सिमरा गोल्डकपको फाइनलको अघिल्लो दिन खाली हुने समयमा बाराका पत्रकारले विभिन्न जिल्लाका पत्रकारसंग मैत्रीपूर्ण खेल खेल्दै आएको छ । सोहीको निरन्तरताको क्रममा यस बर्ष मकवानपुरका पत्रकारसंग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । मैत्रीपूर्ण फुटबलले दुई जिल्लाका पत्रकारबीच चिनाजानीसंगै भ्रातृत्वको विकास हुने पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरि हुमागाईंले बताए ।
