मुस्ताङमा हिमाली गिद्धको बासस्थान पहिचान

तु खबर संवाददाता
२०७४ फाल्गुन ३, बिहीबार १५:२४

ठिनी, मुस्ताङ ३ फागुन । मुस्ताङको घरपझोङ र थासाङ गाउँपालिकाका सात स्थानमा लोपोन्मुख मांसाहारी पक्षी हिमाली गिद्धको बासस्थान पत्ता लागेको छ ।

ग्लोबल प्राइमेट नेटवर्क र मोडिफिकेशन जोमसोमले ड्रोन क्यामेराको सहायताले गरेको अध्ययनका क्रममा सात स्थानमा ४९ वटा हिमाली गिद्धका गुँड भेटिएको हो । लोपोन्मुख पक्षीको सूचीमा रहेको प्रकृतिका कुचिकार मानिने गिद्धको बासस्थान पहिचान गरी संरक्षणको काम गर्ने उद्देश्यले गत असारमा घरपझोङ र थासाङ गाउँपालिकाको पहाडमा ड्रोन क्यामेरामार्फत तस्बीर संकलन गरिएको थियो ।

छुङगुर, जोमसोम, कोबाङ, घासा, पैरो थाप्लाको भिरपाखाहरुमा ४९ वटा हिमाली गिद्धको बासस्थान पत्ता लागेको ग्लोबल प्राइमेट नेटवर्कका कार्यक्रम निर्देशक दिकपालकृष्ण कमाचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार दूरबिनको सहायताले सन् २०१३ र २०१४ मा दश दिन लगाएर गरिएको अध्ययनबाट तीन स्थानमा आठवटा गिद्धका गँुड पत्ता लागेको थियो । यसपालि चार दिनमा आठ घण्टा ड्रोन उडाएर गुँडको खोजी गरिएको थियो । मानिस पुग्न नसक्ने अप्ठ्यारो भिरपहरा र बस्तीदेखि टाढा भएकाले गृह, सूचना तथा सञ्चार मन्त्रालय, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० लगायत निकायसँग अनुमति लिएर गिद्धको बासस्थान पत्ता लगाउन ड्रोन क्यामेराको प्रयोग गरिएको मोडिफिकेशन जोमसोमका सचिव सुविल थकालीले बताउनुभयो ।

आहाराका लागि शिकार नगर्ने गिद्धले मरेका जीवजन्तुको सिनो खाई बाँच्छन् र वातावरण सफा राख्न मद्दत पु¥याएका छन् । गिद्धको बासस्थान वरपरका समुदायलाई गिद्धको महत्व र संरक्षणको आवश्यकताका बारेमा सन्देशमूलक कार्यक्रम गरिँदै आएको छ । उपल्लो मुस्ताङमा बसोबास गर्ने लोवा जातिमा मृत मानिसको शरीर टुक्रा पारेर गिद्धलाई खुवाउने चलन रहेको छ ।

घरपझोङ गाउँपालिका–५ ठिनीका बासिन्दाले केही वर्षपहिले घरपालुवा जनावर मरेपछि खाडल खनेर गाड्ने गरेकामा अहिले बस्तीदेखि टाढाको खाली ठाउँमा लगेर विसर्जन गरी गिद्धलाई खुवाउने गरेका छन् ।

गिद्धको बासस्थान अध्ययनका लागि रुफड फाउण्डेशन युके, ओरियन्टल बर्ड क्लब युके, वाइटली वाइल्ड लाइफ कन्जरभेशन ट्रस्ट युके, आइडिया वाइल्ड लाइफ, द पिर्गनी फण्ड अस लगायत दातृ संघसंस्थाले सहयोग गरेका थिए । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*