बाग्मती गाउँपालिका गोल्ड कपमा राईगाउँ र हरिहरपुरगढी फाईनलमा प्रवेश
–चन्द्र घलान
राईगाउँ, २ फागुन । बाग्मती गाउँपालिका गोल्ड कप प्रतियोगिताको फाईनलमा प्रतिस्पर्धा गर्ने दुई टिमको बुधबार टुङ्गो लागेको छ ।
आज भएको दोस्रो सेमिफाईनल खेलबाट न्यू योङ स्टार क्लबलाई ३–२ गोल पराजित गर्दै राईगाउँ युवा क्लब फाईनलमा प्रवेश गरेको सूर्य माविका प्रधानाध्यापक प्रमोदकुमार राईले जानकारी दिए ।
पहिलो हाफमा १–१ गोलको बराबरीमा रोकिएको खेल दोस्रो हाफमा भने राई गाउँको पक्षमा आयो । राईगाउँको तर्फबाट दोस्रो हाफमा थप दुई गोल भएको हो । यस अघि नै हिजो भएको खेलबाट हरिहरपुरगढी खेलकुद विकास समिति फाईनलमा पू्रवेश गरिसकेको छ । भोलि दिउँसो २ बजे हरिहरपुर र राईगाउँका बिच फाईनल खेल हुनेछ ।
बाग्मती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भईरहेको प्रतियोगिता बाग्मती गाउँपालिकाको फापरबारीमा अवस्थित जनता उच्च माविको खेलमैदानमा संचालन भइरहेको छ ।
प्रतियोगिताको विजेताले नगद रु. १ लाखसहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताको उपविजेताले नगद रु.५० हजारसहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै गोल कप र उत्कृष्ट खेलाडीलाई नगद ५–५ हजार रुपैयाँ दिइनेछ ।
प्रतियोगितामा बाग्मती खेलकुद विकास समिति, बकैया खेलकुद विकास समिति, खानीखोली खेलकुद विकास समिति,हरिहरपुर खेलकुद विकास समिति, श्रृजनशिल समाज, हेटौँडा एकेडेमी, राई गाउँ युवा क्लब, कमला देवी युवा क्लब, पदमपोखरी स्पोर्ट टिम, न्यू स्टार रातोमाटे र हिमालयन युवा क्लब गरि ११ टिमको सहभागिता रहेको छ ।
