मकवानपुरले राजधानीसँगै मुख्यमन्त्री पाएकोमा एमाले खुशी, राजधानी कायम राख्न जोड
हेटौँडा, २ फागुन । प्रदेश नम्बर ३ को राजधानी मकवानपुरको हेटौँडालाई तोकिएको र मुख्यमन्त्री समेत मकवानपुरकै स्थानीयले पाएको भन्दै नेकपा एमाले मकवानपुरले खुशी व्यक्त गरेको छ ।
मुख्यमन्त्री डोरमणि पौडेलसहित एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य बनेका सांसदद्वयको स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गर्दै एमाले मकवानपुरले मिठाई समेत बाँडेको छ ।लड्डु बाँडेको छ ।
प्रदेश राजधानी र मुख्यमन्त्री मकवानपुरमै भएको खुशी व्यक्त गर्दै पार्टी जिल्ला अध्यक्ष मुनु सिग्देलले मिठाई बाँड्ने निर्णय गरेकी हुन् । कार्यक्रममा बोल्दै सिग्देलले मकवानपुर आफैमा भाग्यशाली जिल्ला भएको चर्चा गर्दै प्रदेशको राजधानी हेटौँडा नै कायम गराउन सबै जना लागि पर्न अनुरोध समेत गरिन् । सिग्देल आफै पनि प्रदेशसभा सदस्य हुन् ।
जिल्ला तथा केन्द्रीय नेताहरुको उपस्थिति रहेको कार्यक्रममा मुख्यमन्त्री पौडेलले राजधानीसँग पद साटेको भन्ने हाल्लाको पछि नलाग्न सबैलाई आग्रह गरे । उनले भने, ‘ढुक्क हुनुस्, पदका लागि कुनै सम्झौता गरेको छैन ।’ कार्यक्रममा एमालेका अन्य नेता तथा कार्यकर्ताहरुको पनि सहभागिता रहेको थियो ।
