३ नम्बर प्रदेशमा मन्त्री मण्डल यस्तो बन्नेछ, डोरमणिको मन्त्री मण्डलमा क–कसको छ सम्भावना ?

तु खबर संवाददाता
२०७४ माघ २८, आईतवार १९:४०

चन्द्र घलान/बलराम पुडासैनी
मकवानपुर, २८ माघ । आईतबार प्रदेश नम्बर ३ को मुख्य मन्त्रीमा डोरमणि पौडेललाई नियुक्ति गरिएसँगै ३ नम्बर प्रदेशको मन्त्री मण्डल कसरी बन्छ र को–को त्यसको सदस्य हुन्छन् भन्ने कौतुहलता सबैमा छ ।

३ नम्बर प्रदेश प्रमुख कार्यालय हेटौँडाका सचिव चतुर्भुज ज्ञवालीका अनुसार नेकपा एमाले र माओवादी केन्द्रको सहमतिमा ३ नम्बर प्रदेशको मन्त्री मण्डलको आकार संविधानमा व्यवस्था गरिएको भन्दा आधा सानो हुनेछ । तु खबरलाई जानकारी दिँदै सचिव ज्ञवालीले भने ‘संविधानमा प्रदेश मन्त्री मण्डल कुल सांसदको २० प्रतिशत नबढ्ने गरि निर्माण गर्नुपर्ने व्यवस्था छ तर एमाले र माओवादीको सहमतिमा १० प्रतिशत सदस्य रहने गरि मन्त्री मण्डल बन्ने भएको छ ।’

तस्बिर–गुगल

कस्तो छ संविधानमा व्यवस्था ?
संविधानको धारा १६८ को उपधारा ९ मा ‘प्रदेश प्रमुखले मुख्यमन्त्रीको सिफारिसमा प्रदेश सभाका सदस्यमध्येबाट समावेशी सिद्धान्त बमोजिम मुख्यमन्त्री सहित प्रदेशसभाका कूल सदस्य संख्याको बीस प्रतिसत भन्दा बढी नहुने गरी प्रदेश मन्त्री परिषद गठन गर्नेछ ।’ भन्ने उल्लेख छ ।

संविधानको यो व्यवस्था अनुसार ९३ सदस्य रहेको प्रदेश–१ मा १८ जनासम्मको मन्त्री मण्डल बन्न सक्छ भने १ सय ७ सदस्य रहेको प्रदेश–२ मा २१ सदस्यीय मन्त्री मण्डल बनाउने सकिने छ । त्यसैगरी १ सय १० सदस्य रहेको प्रदेश–३ मा २२ सदस्यीय मन्त्री मण्डल बन्न सक्ने अवस्था छ ।

प्रदेश–४ मा ६० सदस्यीय प्रदेश सभा छ, जहाँ १२ जनाको मन्त्री मण्डल बनाउन सकिन्छ भने ८६ सदस्य रहेको प्रदेश–५ ले १७ जनासम्मको मन्त्री मण्डल बनाउन पाउनेछ । त्यसैगरी ४० सदस्य रहेको प्रदेश–६ ले ८ र ५३ सदस्य रहेको प्रदेश–७ ले १० जनासम्मको मन्त्री मण्डल बनाउन सकिने देखिन्छ ।

यस हिसाबले प्रादेशिक सभाका ५ सय ४९ सदस्यमध्येबाट १ सय ८ जना मन्त्री बन्न पाउँनेछन् । ३ सय ४७ संसद सदस्यबाट जम्मा २५ जना र ५ सय ४९ बाट १ सय ८ जना मन्त्री बन्न पाउने यो संबैधानिक प्रावधान आफैमा अव्यवहारिक देखिएको छ किनभने संवैधानिक व्यवस्था अनुसार १ सय १० सदस्यीय प्रादेशिक सभा रहेको प्रदेश–३ ले झण्डै केन्द्रीय मन्त्रीमण्डलकै आकारको मन्त्री मण्डल बनाउन पाउने देखिएको छ ।

तर विहीबार बसेको एमाले–माओवादी केन्द्रको प्रदेश सरकार निर्माण सम्बन्धी कार्यदलले प्रदेश सरकार निर्माण गर्दा संविधानमा देखिएको यो व्यवहारिक कमजोरी हटाउने निर्णय गरे अनुसार संविधानमा प्रादेशिक सभाको सदस्य संख्याको २० प्रतिसतसम्म मन्त्री मण्डल गठन गर्ने व्यवस्था भएपनि त्यसलाई १० प्रतिसतसम्मको मन्त्री मण्डल बनाउने निर्णय गरेको छ ।

यस अनुसार प्रदेश–१ मा ९, प्रदेश–२ मा १०, प्रदेश–३ मा ११, प्रदेश–४ मा ६, प्रदेश–५ मा ८, प्रदेश–६ मा ४ र प्रदेश–७ मा ५ सदस्यीय मन्त्री मण्डलमात्र बन्नेछ । यस निर्णय अनुसार प्रदेश नम्बर ३ मा ११ सदस्यीय मन्त्री मण्डल बन्ने भएको सचिव ज्ञवालीले तु खबरलाई जानकारी दिए ।

‘को–को अटाउँछन् डोरमणिको मन्त्री मण्डिलमा ?’
एमाले र माओवादी केन्द्रको बैठकको निर्ण तथा सचिव ज्ञवालीका अनुसार प्रदेश नम्बर ३ मा ११ सदस्यीय मन्त्री मण्डल बन्न सक्ने प्रष्ट देखिएको छ । तर मन्त्री मण्डल भोलि नै गठन हुन सक्ने अवस्था एकिन नभएको सचिव ज्ञवालीले तु खबरलाई जानकारी दिए ।

मन्त्री मण्डलमा पुग्ने ११ जना को को हुनेछन् भन्ने विषयमा कौतुहलता सबैलाई छ । आधिकारिक जानकारी नभए पनि ३ नम्बर प्रदेश मन्त्री मण्डलमा मकवानपुरकी कुमारी मोक्तान, केशव स्थापित, रामेश्वर फुयाँल लगायतका सांसदहरु मन्त्री बन्ने श्रोतले बताएको छ ।
मोक्तान मकवानपुर क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित भएका हुन् भने स्थापित काठमाडौ क्षेत्र नम्बर ६ (क) बाट निर्वाचित भएका हुन् । त्यस्तै फुयाँल काठमाडौँ ३ को प्रदेशसभा ख बाट विजयी भएका हुन् । फुयाँल र स्थापित नेकपा एमालेका तथा मोक्तान नेकपा माओवादी केन्द्रका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*