डोरमणि पौडेल मुख्यमन्त्रीमा नियुक्त, सोमबार सपथ ग्रहण
मकवानपुर, २८ माघ । प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश नम्बर ३ संसदीय दलका नेता डोरमणि पौडेल नियुक्त भएका छन् ।
आईतबार साँझ प्रदेश नम्बर ३ को प्रदेश प्रमुख कार्यालयमा भएको पत्रकार सम्मेलनमार्फत कार्यालयका सचिव चतुर्भुज ज्ञवालीले पौडेल मुख्यमन्त्रीमा नियुक्त भएको जानकारी दिएका हुन् । प्रदेश प्रमुख अनुराधा कोईरालाले नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम पौडेललाई मुख्यमन्त्रीमा नियुक्त गरेको सचिव ज्ञवालीले जानकारी दिए ।

पत्रकार सम्मेलनमा प्रेस विज्ञप्ति वाचन गर्दै सचिव चतुर्भुज ज्ञवाली
नेकपा एमाले प्रदेश नम्बर ३ संसदीय दलको कार्यालयको सिफारिसमा पौडेललाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो । एमालेका ५८ जना सांसदको हस्ताक्षर भएको पत्र तथा नेकपा माओवादी केन्द्रबाट समर्थन पाएको पत्र सहित प्रदेश प्रमुख अनुराधा कोइरालाई सरकार गठनको प्रस्ताव गरेपछि कोइरालाले आजै पौडेललाई मुख्यमन्त्रीमा नियक्त गरेकी बताइएको छ ।
पौडेललाई सोमबार बिहान साढे ९ बजे प्रदेश प्रमुख कोईरालाले प्रदेश प्रमुख कार्यालयमा पद तथा गोपनियताको सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ । पत्रकार सम्मेलनमा बोल्दै सचिव ज्ञवालीले सातै प्रदेशमा यो पहिलो र ऐतिहासिक सपथ ग्रहण भएकोले सबै संचारकर्मीलाई उपस्थितिको लागि अनुरोध गरेका छन् ।
