बाग्मती गाउँपालिका गोल्डकपमा ररातोमाटे र हरिहरपुर विजयी, पदमपोखरी र खानीखोलाको हार
–चन्द्र घलान
मकवानपुर, २७ माघ । शुक्रबारदेखि सुरु भएको ‘प्रथम बाग्मती गाउँपालिका गोल्डकप फुटबल प्रतियोगिता’ को दोस्रो दिनको खेलमा हरिहरपुर खेलकुद विकास समिति सिन्धुली र न्यू स्टार रातोमाटे विजयी भएको छ ।
पहिलो खेलमा हरिहरपुरले खानीखोला खेलकुद विकास समिति काभ्रेलाई २–१ गोल अन्तरले पराजित गरेको त्यहाँस्थित सूर्य माविका प्रधानाध्यापक प्रमोदकुमार राईले तु खबरलाई जानकारी दिएका छन् । पहिलो हाफसम्म १–१ गोलको बराबरीमा खेलिरहेको खेलमा दोस्रो हाफमा हरिहरपुरले थप एक गोल गरेर २–१ गोल अन्तरले विजयी भएको हो ।
त्यस्तै दोस्रो खेलमा पदमपोखरी स्पोर्टस् टीमलाई १–० गोल अन्तरले पराजित गर्दै न्यू स्टार रातोमाटे विजयी भएको हो । पहिलो हाफसम्म दुबैतर्फवाट गोल हुन सकेको थिएन । खेल बराबरीमा चल्दै गर्दा दोस्रो हाफको केही समय मात्रै बाँकी रहँदा न्यू स्टार रातोमाटेले एक गोल गरे पछि त्यहि १ गोलनै निर्णायक गोल बन्न पुगेको थियो ।
आईतबार २८ गतेको पहिलो खेल राईगाउँ युवा क्लव र कमला देवी युवा क्लव तथा दोश्रो खेल सृजनशिल युवा क्लव र हेटांैडा एकेडेमी बिच हुनेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा शुक्रबार बाग्मति खेलकुद विकास समितिले बकैया खेलकुद विकास समितिलाई हराएको थियो । प्रतियोगितामा बाग्मती खेलकुद विकास समिति, बकैया खेलकुद विकास समिति, खानीखोली खेलकुद विकास समिति,हरिहरपुर खेलकुद विकास समिति, श्रृजनशिल समाज, हेटौँडा एकेडेमी, राई गाउँ युवा क्लब, कमला देवी युवा क्लब, पदमपोखरी स्पोर्ट टिम, न्यू स्टार रातोमाटे र हिमालयन युवा क्लब गरि ११ टिमको सहभागिता रहेको छ ।
बाग्मती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा फागुन ५ गतेसम्म हुने प्रतियोगिताको विजेताले नगद रु. १ लाखसहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताको उपविजेताले नगद रु.५० हजारसहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तै गोल कप र उत्कृष्ट खेलाडीलाई नगद ५–५ हजार रुपैयाँ दिइनेछ । प्रतियोगिताको खेल बाग्मती गाउँपालिकाको फापरबारीमा अवस्थित जनता उच्च माविको चौरमा भइरहेको बाग्मती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष अरुण लामा बलले जानकारी दिए ।
