हेटौँडामा आज प्रदेश ३ को सभामुख चयनको कार्यसूचि यस्तो छ, आजै शपथ ग्रहण हुने
-चन्द्र घलान
मकवानपुर, २७ माघ । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकमा आज संघीय नेपालको पहिलो सभामुखको चयन हुँदैछ । सभामुख चयनसँगै आजै शपथ ग्रहण कार्यक्रम समेत हुनेछ ।
सभामुखको लागि नेकपा एमालेका सानुकुमार श्रेष्ठको उम्मेदवारी रहने छ । उनी एमालेका पोलिटब्यूरो सदस्य हुन् । मुख्यमन्त्रीका दाबेदार समेत रहेका श्रेष्ठलाई सभामुख बनाउने गरि ब्याक गरिएको बताइएको छ ।
त्यस्तै उपसभामुखमा नेकपा माओवादी केन्द्रकी राधिका तामाङको उम्मेदवारी रहनेछ । उनी पुर्वराज्यमन्त्री समेत हुन् । उनी नुवाकोटको प्रतिनिधिसभाबाट निर्वाचित भएकी हुन् । सभामुखको चयनपछि मात्र उपसभामुख चयनको मिति तय हुनेछ ।
प्रदेश नम्बर ३ मा एमाले एक्लैको मात्र बहुमत भएका कारण सभामुख सानुकमार क्षेष्ठ र उपसभामुख राधिका तामाङनै बन्ने निश्चित छ । एमालेको ५८, माओवादी केन्द्रको २३ र बाँकी २९ सांसद काँग्रेसका रहेका छन् ।
नेकपा एमालेको संसदीय दलको नेतामा डोरमणी पौडेल चयन भएसंगै मुख्यमन्त्री पनि पौडेलनै हुने निश्चित बनेको छ ।
कस्तो छ आजको कार्यसूचि ?
बैठक दिउँसो ३ बजेका लागि हुने भएता पनि सभामुख चयनको प्रक्रिया बिहान १० बजेबाट शुरु हुने प्रदेशसभा सचिवालयले जनाएको छ । बिहान १० बजेदेखि ११ः३० बजेसम्म सभामुख मनोनयनका लागि प्रस्ताव दर्ताको काम हुनेछ । दर्ता भएको प्रस्ताव बमोजिमको नामावली दिउँसो १ बजे प्रकाशन हुनेछ । दर्ता भएको प्रस्ताव उपर दिउँसो ३ बजे बस्ने बैठकमा निर्णयार्थ प्रस्तुत हुने प्रदेशसभा सचिव डा. रोजनाथ पाण्डेले जानकारी दिए ।
प्रदेशसभा बैठकले सभामुख चयन गरेपछि सभामुखले प्रदेश प्रमुख अनुराधा कोइरालासंग सपथग्रहण गर्नेछन् । सपथग्रहणका लागि अपरान्ह ५ बजेको समय तय भएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभामुखमा उम्मेदवारी नदिने र उपसभामुखमा दलहरुसंग आग्रह गर्ने निर्णय गरेको छ ।
सभामुखको चयनपछि उपसभामुखको चयनको मिति तय गरिने जनाईएको छ ।
