प्रथम ‘बाग्मती गाउँपालिका गोल्डकप फुटबल प्रतियोगिता’ शुरु, उद्घाटनमा बाग्मती र बकैया भिड्दै

तु खबर संवाददाता
२०७४ माघ २६, शुक्रबार १५:२१
File Photo

मकवानपुर, २६ माघ । ‘प्रथम बाग्मती गाउँपालिका गोल्डकप फुटबल प्रतियोगिता’ आज शुक्रबारबाट मकवानपुरको बाग्मती गाउँपालिकामा शुरु भएको छ । दिउँसो १ बजे खेलको उद्घाटन गरिने भनिएता पनि केही ढिला गरि खेलको उद्घाटन भएको छ । मकवानपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सांसद कृष्णप्रसाद दाहालले खेलका मुख्य रेफ्रिलाइ फुटबल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेको त्यहाँस्थित सूर्य माविका प्रधानाध्यापक प्रमोद कुमार राईले जानकारी दिए ।

तस्बिरहरु–प्रमोदकुमार राई

प्रतियोगिताको उद्घाटन खेल बाग्मती खेलकुद विकास समिति र बकैया खेलकुद विकास समितिबिच हुँदैछ । प्रतियोगितामा बाग्मति खेलकुद विकास समिति, बकैया खेलकुद विकास समिति, खानीखोली खेलकुद विकास समिति,हरिहरपुर खेलकुद विकास समिति, श्रृजनशिल समाज, हेटौँडा एकेडेमी, राई गाउँ युवा क्लब, कमला देवी युवा क्लब, पदमपोखरी स्पोर्ट टिम, न्यू स्टार रातोमाटे र हिमालयन युवा क्लबको सहभागी छन् ।

सम्बोधन गर्दै उद्घाटन समारोहका प्रमुख अतिथि एवं प्रदेश सांसद कृष्णप्रसाद दाहाल
तस्बिरहरु–प्रमोदकुमार राई

बाग्मती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा फागुन ५ गतेसम्म हुने प्रतियोगिताको विजेताले नगद रु. १ लाखसहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताको उपविजेताले नगद रु.५० हजारसहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तै गोल कप र उत्कृष्ट खेलाडीलाई नगद ५–५ हजार रुपैयाँ दिइनेछ । प्रतियोगिताको खेल बाग्मती गाउँपालिकाको फापरबारीमा अवस्थित जनता उच्च माविको चौरमा भइरहेको बाग्मती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष अरुण लामा बलले जानकारी दिए ।

उद्घाटनका क्रममा खेलाडीहरु मैदानमा प्रवेश गर्दै
तस्बिरहरु–प्रमोदकुमार राई

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*