प्रदेश ३ को मुख्यमन्त्रीमा अष्टलक्ष्मी र डोरमणिको कडा टक्कर, सुरु भयो मतदान
काठमाडौँ, २६ माघ । नेकपा एमाले प्रदेश ३ को संसदीय दलका नेता छान्नको लागि मातदान सुरु भएको छ । साढे १२ बजे गर्ने भनिएको मतदान केही अगाडि नै सुरु भएको हो । चुनावबाट विजयी हुने नेताले नै प्रदेश नम्बर ३ को मुख्यमन्त्री हुनेछन् ।
चुनावी मैदानमा काठमाडौँका अष्टलक्ष्मी शाक्य र मकवानपुरका डोरमणि पौडेल छन् । यस अघि मुख्यमन्त्रीका दावेदार मानिएका राजेन्द्र पाण्डेले उम्मेदवारी दर्ता गराएका छैनन् । उनले अन्तिम समयमा आएर उपाध्यक्ष एवं प्रदेश इञ्चार्ज समेत रहेकी शाक्यलाई समर्थन गरेका हुन् ।
शाक्यको प्रस्तावकमा पशुपति चौलागाई र समर्थनमा राजेन्द्रमान श्रेष्ठ छन् भने प्रदेशसभाका जेष्ठ सदस्य समेत रहेका पौडेलको प्रस्तावकमा केशव स्थापित र समर्थकमा कैलाश ढुंगेल छन् । अष्टलक्ष्मी माधव नेपाल समूहका हुन् भने पौडेल ओली समूहका हुन् ।
प्रदेश ३ मा एमालेका ५८ सांसद छन् । ५८ मध्ये ओली पक्षमा ३४ जना रहेको दावी गरिएको छ । महिला र पार्टीको सिनियर नेता भएका कारण अष्टलक्ष्मीले ओली समूहका मत पनि तान्न सक्ने अनुमान नेपाल पक्षको छ ।
