एमाले प्रदेश ३ को संसदीय दलको नेताका लागि निर्वाचन हुँदै, मकवानपुरका डोरमणिले मार्लान त बाजी ?
मकवानपुर, २६ माघ । नेकपा एमाले प्रदेश नम्बर ३ को संसदीय दलको नेता चयनमा सहमति नजुटेपछि आज मध्यान्ह साढे १२ बजे निर्वाचन हुने भएको छ ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा हुने निर्वाचनका लागि अहिले उम्मेदवारी दर्ता चलिरहेको छ । हालसम्म मकवानपुरका प्रदेश सांसद डोरमणि पौडेलले उम्मेदवारी दर्ता गर्नुभएको छ भने पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिने हुनुभएको छ ।
यसअघि चर्चामा रहेका राजेन्द्र पाण्डेले उम्मेदवारी नदिने बुझिएको छ । दलको नेता प्रदेशको मुख्यमन्त्री हुने भएकाले यो प्रतिस्पर्धा रोचक हुने देखिएको छ । मनोनयनपछि दिउँसो १२ः३० पछि निर्वाचन हुने सो पार्टीका पोलिटब्यूरो सदस्य एवं प्रदेशसभा सदस्य सानुकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
