प्रदेश नं १मा एमालेबाट संसदीय दलको नेता बन्न तीनजनाको दाबी
विराटनगर, २३ माघ नेकपा (एमाले)को प्रदेश नं १को संसदीय दलको नेता चयनका लागि सहमति हुन नसकेपछि माघ २६ गते निर्वाचन हुने भएको छ ।
सो पार्टीबाट प्रदेश सांसदका रुपमा भोजपुरबाट निर्वाचित शेरधन राई, सुनसरीबाट निर्वाचित भीम आचार्य र मोरङबाट निर्वाचित जीवन घिमिरेले संसदीय दलको नेताका लागि दाबी गरेपछि निर्वाचन हुन लागेको हो । सो पार्टीको विधानअनुसार संसदीय दलका नेता नै मुख्यमन्त्री हुने प्रावधान छ ।
प्रदेश नं १मा ९३ सांसदमध्ये ५१ जना एमालेबाट निर्वाचित भएका छन् । यस प्रदेशमा १४ जिल्ला पर्छ ।
यसैबीच प्रदेश नं १को संसदीय दलको नेता चयनका लागि सो पार्टीको इटहरीस्थित प्रदेश समिति सचिवालयले तीन सदस्यीय समिति गठन गरेको छ । सो समितिमा चूडामणि आचार्य, टीकाराम पुरी र प्रेम पोखरेल रहनुभएको छ । रासस
