बाँचुन्जेल विद्यार्थीलाई पोषाक दिने मकवानपुरे एक नेताको घोषणा

तु खबर संवाददाता
२०७४ माघ २१, आईतवार १७:०१

मकवानपुर, २१ माघ । नेपाली काँग्रेस मकवानपुरका नेता एवम् समाजसेवी शङ्कर न्यौपानेले आफू ज्यूँदो रहँदासम्म चेपाङ प्राविमा अध्ययनरत विद्यार्थीहरुलाई प्रत्येक बर्ष पोशाक उपलब्ध गराउने घोषणा गरेका छन् ।

मनहरी गाउँपालिकाको वडा नम्बर ४ स्थित ट्वाङ्ग्रामा रहेको चेपाङ प्राविका बिद्यार्थीलाई आफू बाचुञ्जेल बर्षेनी विद्यालय पोशाक उपलब्ध गराउने उनले उद्घोष गरेका हुन् । आईतबार सिलाउन बाँकी रहेको सर्ट र पाइण्टको कपडा बोकेर उनी विद्यालय पुगेका हुन् ।

‘विद्यालय पोसाक नभएकै कारण पढ्न जान नमानेको, पढाई छोडेको धेरै देखेको र भोगेका पनि छौँ उनले भने, ‘प्रायः चेपाङ र तामाङ समुदायको बाहुल्यता रहेको यस क्षेत्रका बालबालिकाहरु डे«स नभएकै कारण पढाई नछोडुन् भन्ने उद्देश्यले प्रत्येक बर्ष विद्यालय पोशाक उपलब्ध गराउने निर्णय गरेको हुँ ।’

विद्यालयमा भएको औपचारिक कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस मकवानपुर ४ नम्बर क्षेत्रीय सभापति लोक मुक्तानले गरिब एवम् आदिवासी जनजाति अध्ययनरत बिद्यालयमा अब पोशाककै कारण पढाई छोड्ने अवस्थाको अन्त्य हुने दावी गरे । उपमहानगरसंगै जोडिएको गाउँपालिका भएर पनि विकटको विद्यालयको झैं अवस्था रहेको औंल्याउँदै उनले आफ्ना बालबालिकालाई नियमित पढ्न पठाउन अभिभावक समक्ष अनुरोध गरे । चेपाङ प्राविमा अहिले एकसय ३४ जना चेपाङ तथा तामाङ समुदायका विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिष्णुबहादुर चेपाङले ‘स्कूलको डे«स’ नभएकै कारण धेरैले बीचमा पढाई छोड्ने गरेको जानकारी दिँदै अब यस्तो अवस्थाको अन्त्य हुने दावी गरे ।

प्राविसम्म सञ्चालन भैरहेको विद्यालयमा बालविकास सहयोगी कार्यकर्तासहित जम्मा ३ जना मात्रै शिक्षक रहेको र एउटा मात्रै दरबन्दी रहेको प्रधानाध्यापक राजेन्द्र न्यौपानेले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*