शहीद दिवशमा अध्यक्ष ओलीको यस्तो सन्देश

तु खबर संवाददाता
२०७४ माघ १६, मंगलवार १०:११

काठमाडौँ, १६ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले
समृद्ध राष्ट्र निर्माणको महाभियानमा साथ र सहयोग गर्न सम्पूर्ण देशवासीलाई आह्वान गर्नुभएको छ ।

शहीद दिवशका अवसरमा आज एक वक्तव्य जारी गर्दै उहाँले लोकतान्त्रिक आन्दोलनका ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गर्नु भएको छ ।

शहीदको बलिदानीबाट नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको, संविधानसभाले संविधान जारी गरेर नेपालीलाई अधिकार सम्पन्न बनाएको उल्लेख गर्दै अध्यक्ष ओलीले नेपालको राजनीतिक, सामाजिक, न्यायिक अधिकार प्राप्तिका लागि शहीदले गरेको बलिदानीको स्मरण गर्नु भएको छ । ओलीले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को लक्ष्य प्राप्त गर्नु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जलि हुने कुरा पनि व्यक्त गर्नुभएको छ ।

सन्देशमा उहाँले वाम गठबन्धनलाई जनताले नयाँ युगको जिम्मेवारी दिएको बताउँदै भन्नुभएको छ, “वाम गठबन्धनप्रति जनताको यस विश्वासप्रति हामी आभार प्रकट गर्न चाहन्छौँ र यहाँहरुको विश्वासको उच्च सम्मान र कार्यान्वयन हुने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँं ।”

अध्यक्ष ओलीले राजनीतिक स्थायित्व, सामाजिक न्याय र समानता, राष्ट्रिय स्वाधीनता तथा स्वाभिमान, सामाजिक सद्भाव एवं समृद्धि जस्ता जनताका चाहनालाई सम्बोधन गर्न आज एमाले र नेकपा (माओवादी केन्द्र) गठबन्धनमा आबद्ध भएको पनि बताउनुभएको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*