संसद बैठकमा पत्रकारले के गर्न हुन्छ के गर्न हुँदैन ?

तु खबर संवाददाता
२०७४ माघ ७, आईतवार १८:३९

मकवानपुर, ७ माघ । कुनै पनि संसद बैठकमा आफ्नै एउटा मर्यादा हुन्छ । मर्यादा र अनुशासन संसद बैठकमा उपस्थित मन्त्री, नेता, पत्रकार तथा त्यहाँ उपस्थित सबैको लागि तोकिएको हुन्छ । मर्यादा पालन गराउनका लागि त्यस ठाउँको सुरक्षा निकाय तथा संसद सचिवालयले मर्यादा पालकहरुको समेत व्यवस्था गरेको हुन्छ । त्यो मर्यादाको उल्लंघन गरेमा विशेष सजाय समेत हुनसक्छ ।

तर प्रदेश नम्बर ३ को अस्थायी राजधानी हेटौँडामा अवस्थित संसद सचिवालयको दृश्यले त्यहाँको मर्यादाका बारेमा जानकारी हुनेहरुलाई अचम्मित तुल्याउने कार्य समेत भएको छ । संसद बैठकमा (शपथ ग्रहणको समयमा सहित) सबैको लागि एउटा मर्यादा र अनुशासन रहेको हुन्छ, जसलाई पत्रकारहरुले त झनै बिर्सनै हुँदैन ।

निवर्तमान सभामुख ओन्सरी घर्ति मगरका प्रेश सल्लाहकार तथा संसदीय मामिलाका पत्रकार बबिन शर्मासँग तु खबरले यस विषयमा विशेष कुराकानी गरेको थियो । उनका अनुसार संसद बैठकमा पत्रकारहरुले निम्न कामहरु गर्न हुँदैन–

१) संसद बैठकमा कुनै पनि पत्रकारले उपरखुट्टी लाएर बस्न र होहल्ला गर्न मिल्दैन ।
२) संसद बैठक चलिरहेका बेला पत्रकारहरुले आफ्ना धारणा राख्न, प्रश्न सोध्न वा सुचना डेस्क (तोकिएको ठाउँ) भन्दा बाहिर जान र कुनै पनि सांसदलाई छुन मिल्दैन ।
३) विशेष परिस्थिति बाहेक भित्र बाहिर गर्न मिल्दैन, बैठक चलिरहेका बेला उठ्न मिल्दैन ।
४) संसद बैठकभित्र (सचिवालयमा) फोटो पत्रकार वा भिडियो पत्रकारको आईडी वा सचिवालयले तोकेको परिचयपत्र लिएर मात्र फोटो वा भिडियो खिच्न मिल्छ । तर रिपोर्टर मात्र लेखिएको संस्थाको आईडी कार्डले फोटो र भिडियो खिच्न मिल्दैन ।
५) तोकिएको स्थानबाट भन्दा अन्य ठाउँमा गएर, सभामुखको नजिक, मन्त्री वा संसदको नजिक गएर फोटो, भिडियो खिच्न मिल्दैन ।
६) सभामुखको सम्मानमा सभामुख प्रवेश वा प्रस्थान गर्ने समयमा प्रधानमन्त्रीदेखि पत्रकार र उपस्थित सबै उठ्नुपर्छ ।
७) सभामुख बाहिर ननिस्किएसम्म संसद बैठकमा उपस्थित कुनै पनि पत्रकार, मन्त्री वा सबै बाहिर निस्कन मिल्दैन ।
८) सपथ ग्रहणका बेला वा बैठकका बेला सभामुखलाई समेत त्यहाँ उपस्थित मन्त्री तथा अन्य कसैले पनि छुन वा उनीहरुको लाईनमा गएर बस्न मिल्दैन ।

यी र यस्ता कार्यहरु गरेमा मर्यादा पालकले जो कसैलाई पनि बाहिर निकाल्दिन वा सजाय समेत हुन सक्छ । यी बाहेक कुनै पनि देशको प्रदेश राजधानी वा केन्द्रको राजधानी भएको स्थानमा सांसदलाई शपथ ग्रहण गराउँदा उक्त स्थानमा (ड्यासमा) उक्त क्षेत्रको मेयर पनि प्रदेश प्रमुख र सभामुखसँगै हुनुपर्ने अन्तराष्ट्रिय अभ्यास छ । तर हेटौँडामा भने त्यो कुरा देखिएन । मेयर हरिबोल महतलाई किन ड्यासमा बोलाईएन त्यसको जवाफ भविष्यमा आउँला ।

साथै आज भएका मर्यादाभङ्गका कुराहरु समेत संसद बैठक र सचिवालयमा अब दोहोरिन नदिन मर्यादा पालक र संसद सचिवालयले विशेष ध्यान दिन जरुरी भएको जानकारहरु बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*