३ नम्बर प्रदेश प्रमुख, मूख्य मन्त्री र प्रदेशसभा बस्ने भवन फाइनल

तु खबर संवाददाता
२०७४ माघ ५, शुक्रबार १७:२१
मूख्य मन्त्रीको कार्यालय

मकवानपुर । सरकारले ३ नम्बर प्रदेशको अस्थायी राजधानी हेटौंडा घोषणा गरेपछि यससँगै प्रदेश प्रमुख, मूख्य मन्त्री तथा प्रदेशसभाको बैठक कहाँ बस्छ भनेर आम सर्वसाधारणमा चासो तिब्र भएको छ । सामाजिक संजालमा पनि यसबारे बहस, छलफल भइरहेका छन् । साँच्चै कहाँ बस्ला छ प्रदेशसभाको पहिलो बैठक ? अनि प्रदेश प्रमुख र मूख्यमन्त्री कहाँ बस्लान् ?
तु खबरलाई प्राप्त सूचना अनुसार, प्रदेश प्रमुखको कार्यालय हालको क्षेत्रीय प्रशासन कार्यालयमा राख्ने तयारी भइरहेको छ । सरकारी तयारी अनुसार, हेटौंडाको बसपार्क नजिकै रहेको क्षेत्रीय प्रशासन कार्यालयमा प्रदेश प्रमुख बस्नेछन् ।

क्षेत्रीय प्रशासन कार्यालय, जहाँ प्रदेश प्रमुखको कार्यालय राख्ने तयारी हुँदैछ ।

मूख्य मन्त्रीलाई जिल्ला समन्वय समितिको नयाँ भवनमा राखिनेछ । अहिले समन्वय समितिका सभापति रहने सो भवनमै मूख्यमन्त्रीको कार्यालय बनाउने तयारी प्रशासनको छ ।

जिल्ला समन्वय समिति मकवानपुरको भवन, यसपछि मूख्य मन्त्रीको कार्यालय बनाइदैछ ।

स्थानीय प्रशासन अहिले सो को तयारीमा लागिरहेको छ । प्रदेशसभाको बैठक भने क्षेत्रीय शिक्षा निर्देशनालयको हलमा राख्ने तयारीमा प्रशासन छ । क्षेत्रभित्रका जिल्ला शिक्षा कार्यालयको रेखदेख र नियन्त्रण गर्दै आएको क्षेत्रीय शिक्षा निर्देशनालयलाई प्रदेशसभाको बैठक बस्ने थलोको रुपमा तयारी अघि बढाइएको छ । अन्य स्थानमा बस्ने कुर्सी, माइकजस्ता प्राविधिक कुराको व्यवस्थापन गर्न तयारी नपुग्ने भन्दै यहि कार्यालयलाई सभा बस्ने भवनको रुपमा प्रयोग गरिने बताइएको छ ।

क्षेत्रीय शिक्षा निर्देशनालयको भवन, अब यहि भवनमा प्रदेशसभाको पहिलो बैठक बस्ने संभावना छ ।

क्षेत्रीय स्तरका कार्यालय रहेको हेटौंडामा प्रदेश राजधानी घोषणा हुने वित्तिकै प्रदेश प्रमुख, मूख्य मन्त्री तथा प्रदेशसभाको पहिलो बैठक आदि कार्यको व्यवस्थापन तिब्र गतिमा भइरहेको छ । प्रदेशको स्थायी राजधानी हेटौंडा भएमा प्रदेशसभाको बैठक बस्नका लागि हुप्राचौरमा रहेको वासुदेव सभागृह उपयुक्त हुने छ । अहिले पनि त्यहि राख्ने की भन्ने छलफल भइरहेको हो तर आवश्यक तयारी गर्न समय नभएकोले क्षेत्रीय शिक्षा निर्देशनालयको मिटिङ हल प्रयोग गर्ने निश्कर्षमा प्रशासन पुगेको छ ।
नेपाल प्रहरीको प्रदेश स्तरको कार्यालय हेटौंडामा रहेको छ भने नेपाली सेनाको मध्य पेतना पनि हेछौंडामै छ । राष्ट्रिय अनुसन्धान विभागको क्षेत्रीय कार्यालय पनि हेटौंडामै भएको कारणले सुरक्षा व्यवस्था पनि मजबुद हुने विश्लेषण गरिएको स्रोत बताउँछ । हेटौंडामै उच्च अदालतको इजलास, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय, बनको क्षेत्रीय कार्यालय, स्वास्थ्यको क्षेत्रीय निर्देशनालय लगायतका सबै क्षेत्रीय स्तरका कार्यालय रहेका कारण सहज भएको हो ।

सहिद बासुदेव घिमिरेको स्मृतिमा निर्माण गरिएको बासुदेव सभागृह, जसको संरक्षण हुन सकेको छैन ।

गणतन्त्र स्थापनाको लागि ज्यानको बलि दिने सहिद बासुदेव घिमिरेको स्मृतिमा निर्माण गरिएको बासुदेव सभागृहमा प्रदेशसभाको बैठक राखिने हल्ला चलेको भएपनि सो भवनमा बैठकका लागि गर्नु पर्ने तयारी गर्न समय अभाव भएपछि वासुदेव सभागृहमा सभाको बैठक नबस्ने भएको छ । यदि मकवानपुर स्थायी रुपमा प्रदेशको राजधानी भएमा भने यो सभागृह प्रयोगमा आउन सक्ने बताइन्छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले प्रदेश प्रमुख, मूख्य मन्त्री रहने स्थानको तयारीमा लागि परेको बताउँछन् । प्रदेश प्रमुखको लागि क्षेत्रीय प्रशासन, मूख्य मन्त्रीको लागि जिल्ला समन्वय समितिको भवन, र प्रदेशसभा बैठकको लागि क्षेत्रीय शिक्षा निर्देशनालय उपयुक्त रहेको उनको धारणा छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*