स्वर्गीय प्रविना जम्कटेल स्मृति फुटबल कप शुरु, उद्घाटन खेलमा बुद्ध सामााजिक र रजैया बिजयी
–चन्द्र घलान
मकवानपुर, ४ माघ । स्वर्गीय प्रविना जम्कटेल स्मृति जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिता बिहीबारबाट सुरु भएको छ । बुद्ध सामाजिक नमूना युवा क्लब र आरआर एफसीको आयोजनामा भएको प्रतियोगितामा बिहीबार भएको उद्घाटन खेलमा आयोजक बुद्ध सामाजिक नमूना युवा क्लब र रजैया युवा क्लब बिजयी भएको स्थानीय बुद्धरत्न स्याङ्तानले जानकारी दिए ।
बुद्ध सामाजिक नमूना युवा क्लब र सूर्य किरण युवा क्लबबिच भएको पहिलो खेलमा बुद्ध सामाजिक युवा क्लब ३–० गोल अन्तरले विजयी भएको छ । बुद्धका तर्फबाट दुई गोल बबिन उप्रेती र १ गोल विजय लामाले गरेका थिए । खेलमा बबिन उप्रेती म्यान अफ दि म्याच भएका छन् ।
त्यस्तै दोस्रो खेल रजैया युवा क्लब र न्यूरेनी युवा क्लबबिच भएकोमा रजैयाले ३–१ गोल अन्तरले न्यूरेनीलाई पराजित गरेको छ ।
भोलि पहिलो खेल सक्षम युवा क्लब र प्रतिभा युवा क्लबबिच हुनेछ । त्यस्तै भोलि नै हुने दोस्रो खेलमा मंगोलियन युवा क्लब र कमाने एफसी भिड्नेछन् भने तेस्रो खेल युनाईटेट नाईन ए र लामिटार युवा क्लबबिच हुने आयोजक आरआर एफसीका अध्यक्ष रेशम जम्कटेलले जानकारी दिए ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर ३ बसामाडी खेल मैदानमा भइरहेको खेलमा २० टिमको सहभागिता रहेको छ । माघ १२ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद रु. २५ हजार सहित शिल, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् भने उपविजेताले नगद रु. १५ हजार सहित शिल, प्रमाणपत्र र मेडल प्राप्त गर्ने आयोजक बुद्ध सामाजिक नमूना युवा क्लबका अध्यक्ष हर्कबहादुर पाख्रिनले जानकारी दिए ।
