हेटौँडामा जारी कुस्तीमा आशा र सदिक्षालाई स्वर्णपदक
मकवानपुर, २७ पुस । राखेप च्याम्पियतशिप अन्तर्गत हेटौँडामा आजदेखि सुरु भएको १३ औँ राष्ट्रिय महिला तथा पुरुष कुस्तीमा दुई स्वर्ण पदको टुंगो लागेको छ । १६ वटा स्वर्ण पदका लागिभएको प्रतियोगितामा ६९ केजीमा झापाकी सदिक्षा राई र ४५ केजीमा सुनसरीकी आशा कुमारी खत्वेले स्वर्ण पदक प्राप्त गरेकी हुन् ।
उनीहरुले आफ्नो तौल समूहमा अन्य खेलाडी नभए पछि स्वर्ण पदक पाएका निर्णायक विद्यासागर पोखरेलले जानकारी दिए । अन्य तौल समूहको आज पहिलो चरणका खेलहरु सम्पन्न भएका छन । भोलि दोस्रो चरण तथा फाईनल खेल हुनेछन् । मकवानपुरमा पहिलो पटक भएको कुस्तीमा १९ जिल्ला र नेपाली सेना र नेपाल प्रहरीवाट १७ जना महिला र ४५ जना पुरुष खेलाडीहरुको सहभागिता रहेको छ ।

प्रतियोगिताको उद्घाटन हेटौँडा उपमहानगरपालिकका प्रमुख हरिबहादुर महतले गरेका थिए । नेपाल कुस्ती संघका अध्यक्ष नारायण देव राणाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला खेलकुद विकास समिति अध्यक्ष माधव तिमल्सिना तथा कुस्ती संघका सदस्य सुजन खतिवडाले मन्तव्य व्यक्त गरेका थिए ।
