फुटबल संघको अधिवेशन स्थगित, ३७ क्लबलाई सहभागी गराउन एन्फालाई चिठी

तु खबर संवाददाता
२०७४ पुष २५, मंगलवार १८:५९

मकवानपुर, २५ पुस । मकवानपुर जिल्ला फुटबल संघको अधिवेशनमा ९ वटा क्लबलाई मात्र सहभागीता जनाउन मिल्ने गरि अखिल नेपाल फुटबल संघ (एन्फा) अधिवेशनको निर्देशिका जारी भएपछि सुरु भएको विवादले मकवानपुरमा फुटबल संघको अधिवेशन नै स्थगित गराएको छ । साथै २०७४ सालमा सञ्चालित जिल्ला लिगमा सहभागी भएका सबै ३७ ओटै क्लबले अधिवेशनमा भाग लिन पाउनुपर्ने भन्दै संघले एन्फालाई चिठी समेत पठाएको छ ।

यही पुस २७ गते हुने भनिएको संघको निर्वाचन तथा साधरणसभा अनिश्चितकालको लागि सर्ने भएको हो । एन्फाको निर्देशिका र संघको बैठकले ९ वटा क्लबलाई मात्र सहभागी हुने अवसर प्रदान गरे पछि मकवानपुरका असन्तुष्ट र पीडित फुटबल क्लबहरुले विरोध जनाएको थियो ।
मकवानपुरमा बिहीबार पत्रकार सम्मेलन गर्दै फुटबल क्लबका अध्यक्ष तथा सदस्यहरुले साधारणसभामा सहभागी हुन पाउने आफ्नो अधिकार खोसिएमा कानुनी उपचारको बाटोमा समेत लाग्ने र अधिवेशनलाई बिथोल्ने चेतावनी समेत दिएका थिए ।

प्रतिभा क्लब, मकवानपुर सिटि युनाईटेड, चौघडा फुटबल क्लब, ७ नम्बर फुटबल टिम, हालसालै भएको लिगको उपविजेता एफसी नामटार, पूर्व उपविजेता एफसी बाग्मती गाउँपालिका, एफसी मल्टिभिजन लगायतको फुटबल टिमले विरोध जनाउँदै अधिवेशनमा सहभागी हुन पाउँ भन्दै जिल्ला खेलकुद विकास समितिमा समेत ज्ञापन पत्र बुझाएको थियो ।

यसै सिलसिलामा मंगलबार फुटबल संघ मकवानपुरका अध्यक्ष राजेन्द्र श्रेष्ठ सहितको टोली र आन्दोलनरत क्लबहरुको प्रतिनिधिबिच भएको वार्ताले निर्वाचन मिति सारेर मकवानपुरमा रहेका ३७ वटै क्लबलाई साधरणसभामा भाग लिने वातावरण बनाउने गरि एन्फालाई पत्र लेखेको हो ।

वार्ता सफल भएपछि आन्दोलनमा अग्रसर भएका मध्येका एक प्रतिभा क्लबका अध्यक्ष लवराज ठकुरीसहितको टोलीले जिल्ला फुटबल संघ मकवानपुरको निर्णयको स्वागत समेत गरेका गरेका छन् । अधिवेशनमा सहभागिता मात्र नभै मतदान गर्ने निर्णय समेत हुने आशा समेत व्यक्त गरिएको छ ।
एन्फाबाट अधिवेशनका लागि जारी निर्देशिकाको बुँदा नम्बर १ मा अधिवेशनमा सहभागी हुनका लागि वि.सं. २०७० सालको अधिवेशनमा सहभागी भई दुई पटक जिल्ला लिगमा सहभागी भएको क्लबहरुमात्र योग्य हुने बताएको छ भने बुँदा नम्बर २ मा भने २०७० को अधिवेशनमा सहभागी नभएको तर जिल्ला फुटबल संघले आयोजना गरेको जिल्ला लिगमा कम्तिमा एक पटक विजयी भएको र कम्तिमा २ वटा जिल्ला लिग फुटबल प्रतियोगितामा सहभागी भएको क्लब सहभागी हुन पाउने प्रावधान राखेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*