हेटौँडाको हुप्रचौरमा कुस्ती ,फरेष्ट्रीमा हक्की
मकवानपुर, २५ पुस । मकवानपुरको हेटौँडामा पुस अन्तिम र माघ पहिलो साता कुस्ती तथा हक्की प्रतियोगिता हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद च्याम्पियनसिप अन्तरगत १३ औं कुस्ति प्रतियोगिता हेटौँडामा हुने भएको हो । यही पुस २७ र २८ गते हुप्रचौरमा कुस्ती प्रतियोगिता हुने आयोजक नेपाल कुस्ती संघले जानकारी दिएको छ ।
प्रतियोगितामा २२ महिला र ५६ पुरुष गरी ७८ जना खेलाडीको सहभागिता रहने छ । प्रतियोगितामा ५३ देखि १२५ केजी तौलसम्ममा पुरुषले प्रतिष्पर्धा गर्नेछन् भने ४३ देखि ७५ केजी तौल समूहसम्ममा महिलाले प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगितामा १३ लाख रुपैँया खर्च लाग्ने अनुमान गरिएको छ ।

त्यस्तै च्याम्पियनसिप अन्तरगत नै नेपाल हक्कि संघले १७ औं हक्की प्रतियोगिता वन विज्ञान अध्ययन संस्थानमा गर्ने भएको छ । माघ १ देखि ६ गतेसम्मसंस्थानको चौरमा हुने प्रतियोगितामा ५ विकास क्षेत्र र नेपाली आर्मीको टिम गरी ६ टोलीले प्रतिष्पर्धा गर्ने छन् ।
लिग कम नकआउट प्रतियोगिताका लागि २० लाख रुपैँया खर्च हुने संघले जनाएको छ । दुबै प्रतितियोगिताका विजयी टिमले शिल्ड, मेडल र प्र्रमाणपत्र प्राप्त गर्नेछन् ।
पत्रकार सम्मेलनमा जिला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिना, कुस्ती संघका केन्द्रीय महासचिव विद्यासागर पोखरेल, कार्यक्रम संयोजक राजेन्द्र पाठक लगायतको सहभागिता रहेको थियो ।
