राप्रपा हारको कारण भन्दै कमल थापाले लगाए कांग्रेसलाई यस्तो आरोप
काठमाडौँ, २१ पुस : राष्ट्रिय प्रजातन्त्र पार्टीले गएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पराजय भोग्नु पर्नाको कारणबारे समीक्षा गरेको छ । उसको वैठकको निष्कर्ष यस्तो छ।
यही पुस १९ गतेदेखि आजसम्म बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले निर्वाचनको पूर्वसन्ध्यामा भएको पार्टी विभाजन नै पराजयको मुख्य कारण भएको ठहर गरेको यहाँ आज आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष कमल थापाले जानकारी दिए । बैठकले चुनावमा पराजयका निमित्त लोकतान्त्रिक गठबन्धनससँग गरिएको तालमेल पनि कारणका रुपमा रहेको जनाएको छ ।

फाइल फोटो
लिखित रुपमा भएको सम्झौतानुरुप नेपाली काँग्रेसले राप्रपालाई प्रतिनिधिसभा र प्रदेशसभामा सिट नदिनु तथा स्थानीय तहमा इमान्दारीपूर्ण सहकार्य नहुनु पराजयको अर्को कारण भएको ठहर गरिएको छ ।
चुनावमा पार्टीको अप्रत्याशित परिणामको कारण र आधारबारे विस्तृत अध्ययनअनुसन्धान गरी भविष्यका लागि सुझावसहितको प्रतिवेदन तयार गर्न बैठकले डा विष्णु भण्डारीको संयोजकत्वमा निर्वाचन समीक्षा तथा अध्ययन समिति गठन गरेको छ । समितिमा केन्द्रीय सदस्य गोविन्द खनिया, भक्ति सिटौला, चन्द्रेश्वर राय यादव, धनबहादुर बुढा, प्रकाश रिमाल, विजयलक्ष्मी सिंह र श्याम शाही सदस्य छन् ।
आगामी माघमा देशका सम्पूर्ण जिल्लामा जिल्लास्तरीय कार्यकर्ता भेला तथा फागुनको दोस्रो हप्तामा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको केन्द्रीय अधिवेशन गर्ने निर्णय पनि गरिएको छ । निर्वाचनमा झापा क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा नवनिर्वाचित पार्टी महामन्त्री राजेन्द्र लिङ्देनलाई बैठकले बधाई तथा शुभकामना व्यक्त गरेको छ राससको समाचारमा उल्लेख छ ।
