विश्लेषण : संयुक्त राष्ट्रसंघ र उत्तर कोरियाको रवैया
उत्तर कोरियाले हिजो १३ गते बुधबार एउटा शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको विषयले अहिले अन्र्तराष्ट्रिय निकायमा निकै चिन्ता र चासो बढेको छ । संयुक्त राष्ट्रसंघले क्षेप्यास्त्रको परीक्षण र प्रयोगमा कडा नियन्त्रण अपनाउ आग्रह गर्दै आइरहेको भएपनि उत्तर कोरिया लगायतका केही देशहरुले यसलाई सुनिरहेका छैनन् र घातक हतियारहरुको प्रयोग र परीक्षणलाई निरन्तर अघि बढाइरहेका छन् ।
उत्तर कोरियाले क्षेप्यास्त्रको परीक्षण गरेको समाचारहरु सार्वजनिक भइरहेका छन् । विश्व समुदायले उत्तर कोरियालाई यस्ता काम नगर्न भनिरहेका थिए । यसरी संयुक्त राष्ट्रसंघसमेतले क्षेप्यास्त्र परीक्षणलाई रोक्न आग्रह गरेपनि उसले विगत २ महिनाअघिदेखिको आग्रहहरु लत्याउँदै ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण गरिदियो ।
उत्तर कोरियाद्वारा बारम्बार अन्तर्राष्ट्रिय नियमहरुको उलंघन भइरहेको छ । राष्ट्रसंघ यस्ता गतिबिधि नियन्त्रण गर्न आग्रह गर्दै जाने र कोरिया भने गर्नै नहुने गतिविधिलाई निरन्तर गरिरहदा सबैतिर चिन्ता छाउनु स्वभाविक पनि हो । हालसम्मकै शक्तिशाली क्षेप्यास्त्रको परीक्षणले शान्ति कायम हुने कुरामा अवरोध गर्न सक्दछ ।
राष्ट्रसंघले मात्र होइन, संयुक्त राज्य अमेरिका, जापान, दक्षिण कोरियाले पनि यसलाई रोक्न आग्रह गर्दै आएको थियो । तर आजभन्दा अघि अप्रिल र जुलाईमा पनि उत्तर कोरियाले क्षेप्यास्त्रको परीक्षण गरेको थियो । यी सबैका विरोधका वाबजुत् पनि उत्तर कोरियाले क्षेप्यास्त्रको परीक्षणलाई रोकेको छैन । बरु निरन्तर क्षेप्यास्त्रको परीक्षणमा उसले लगानी गर्दै आइरहेको छ । केही समय अघि हाइड्रोजन मिश्रित परमाणु परीक्षण समेत गरेको थियो ।
विश्वमा शान्तिको स्थापना र मानवअधिकारको रक्षाका लागि संयुक्त राष्ट्रसंघले महत्वपूर्ण योगदान गर्दै आइरहेको छ । उसको उद्धेश्य नै शान्ति स्थापनाका लागि काम गर्ने रहेको छ ।
तर उत्तर कोरिया आफूलाई आणविक शक्ति राष्ट्रको रुपमा बलियो भएको प्रतिक्रिया दिइरहेको छ भने अमेरिका लगायतका भुभागसम्म हान्न सक्ने क्षमताको क्षेप्यास्त्र विकास गरेकोमा कोरिया आफूलाई गर्व महसुस गरिरहेको छ ।
राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले उत्तर कोरियाको यस्ता गतिविधिका बारेमा कडा शब्दमा विरोध गरिरहनु भएको छ ।
विश्व समुदायको आग्रहलाई नकार्दै उत्तर कोरियाद्वारा गरिएका यस्ता गतिविधिले विश्वको शान्तिका लागि चिन्ता जनक घटना भएको महासचिवको प्रतिक्रिया छ । विश्व शान्तिको राष्ट्रसंघीय मान्यताको विरुद्धमा छ र यसले शान्तिको चाहना राख्नेहरुको अपमान गरेको छ, महासचिव एन्टोनियोले भनेका छन् ।
अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले पनि यसको विरुद्ध आफ्नो धारणाहरु राखेका छन् । ।
शान्ति क्षेत्र नेपालका तर्फबाट यस विषयमा खासै कुनै प्रतिक्रिया सार्वजनिक नभएपनि नेपालले गर्दै आइरहेको विश्व शाक्तिको अभियानलाई अघि बढाउनु आवश्यक रहेको छ । उत्तर कोरियाको रबैयालाई नियन्त्रण गर्न राष्ट्रसंघसमेतका निकायहरुले प्रभावकारी पहल गरेनन् भने त्यसले विश्व शान्तिको अभियानमा छिट्टै क्षति पुर्याउन सक्दछ ।
