मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनमा छतेन्द्रको उम्मेदवारी घोषणा
मकवानपुर ४ पुस । उद्योग वाणिज्य संघ मकवानपुरको आसन्न निर्वाचनमा मोवाईल एसोसिएसन अफ नेपाल मकवानपुरका संस्थापक अध्यक्ष छतेन्द्र आर्चायले उद्योग तर्फको खुल्ला सदस्य पदकालागि उम्मेदवारी घोषणा गरेका छन् । आज मंगलबार हेटौंडामा पत्रकार संमेलन गरी आफ्नो उम्मेदवारी पक्का रहेको आचार्यले जानकारी दिए ।
मकवानपुरमा २०६६ सालमा मोवाईल एसोसिएसनको सुरुवात गरी आफुले काम गरेको र मउवा संघमा पनि बस्तुगत तर्फ काम गरेको अनुभव आफुसंग भएको कारण पनि आफु सक्षम उम्मेदवार रहेको उनको भनाई छ । साथै आफ्नो कार्यकालमा मकवानपुरमा नयाँ ब्राण्डको मोवाईल तथा ईलेक्ट्रोनिक सामानहरु बजारमा ल्याउन ठुलो भुमिका खेलेको स्मरण गर्दैै आगामी दिनहरुमा पनि व्यवसायी र सर्वसाधारणको हितको लागि काम गर्ने बताए ।
आचार्य खुल्ला सदस्य पदका उम्मेदवार हुन उनी कुनैपनि प्यानलबाट आएका भने हैनन् । कार्यक्रम मोवाईल एसोसिएसन अफ नेपाल मकवानपुरका अध्यक्ष अकुर गौतमको सभाध्यक्षतामा भएको थियो ।
