ईपीएल क्रिकेटको पहिलो खेलमा ललितपुर विजयी
काठमाडौँ, ३ पुस । काठमाडौंमा सोमबारदेखि सुरु भएको एभरेष्ट प्रिमियर लिग –इपीएल) क्रिकेटको पहिलो खेलमा ललितपुर प्याट्रिअट्स विजयी भएको छ ।
कीर्तिपूरस्थित टियू क्रिकेट मैदानमा भएको खेलमा ललितपुरले काठमाडौं किङ्स एलाभेनलाई ७ विकेटले पराजित गरको हो ।
काठमडौंले दिएको ९० रनको लक्ष्यलाई राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल समेत सामेल रहेको ललितपुरले १६.४ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो । ललितपुरका लागि भारतीय ब्याट्सम्यान जयकिसन कोल्सावालाले सर्वाधिक अविजित ४४ रन बनाए । ओपनर कोल्सावालाले ४८ बल खेलेर ४ चौका र २ छक्का प्रहार गरे ।
ललितपुरका लागि कप्तान मल्लले पनि २० रन बनाए । अर्का ओपनर पवन सर्राफ खाता नखोली आउट भएपछि मल्ल र कोल्सावालाले दोस्रो विकेटका लागि ५४ रनको अर्धशतकीय साझेदारी गरेका थिए । ललितपुरका लागि अर्का भारतीय खेलाडी योगेश नागरले २ रनमात्र बनाउँदा राजवीर सिंहले अविजित १४ रन बनाए ।
काठमाडौंका लागि मेरेनागे फर्नाण्डोले २ तथा सोमपाल कामीले १ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले १८.३ ओभरमा सबै विकेट गुमाउँदै मात्र ८९ रन बनाएको थियो । काठमाडौंका लागि अोपनर अमित श्रेष्ठले २७ रन बनाए । त्यस्तै श्रीलंकाली ब्याट्सम्यान अक्षु पर्नाण्डेजले १५ र सोमपाल कामीले १४ रन बनाएका थिए । काठमाडौंका चार व्याट्सम्यान खाता नखोली पेविलियन फर्किन बाध्य भए ।
बलिङतर्फ ललितपुरका भारतीय बलर सुबोध भाटीले सर्वाधिक ४ विकेट लिँदा ललित राजवंशीले ३ तथा मेहवुव आलमले २ र योगेश नागरले १ विकेट लिए । ४ ओभरमा १४ रन दिएर ३ विकेट लिएका नेपाली युवा बलर ललित भण्डारी खेलको म्यान अफ द म्याच चुनिए ।
