राजनीतिक नियुक्ति गरेकोमा प्रधानमन्त्री देउवालाई प्रचण्डको चेतावनी
काठमाडौं । गणतन्त्र स्थापनापछिको पहिलो आम निर्वाचनमा वाम गठबन्धनले झण्डै दुई तिहाई मत हासिल गरेपछि सरकारको नेतृत्व गर्न हतारिएका नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी ओलीको सन्देश लिएर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेर बहादुर देउवासँग भेटघाट गरेका छन् ।
शनिबार विहान बालुवाटारमा भएको भेटवार्ता सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सचिवालयले जनाएको छ । केपी ओलीको सन्देश लिएर वालुवाटार पुगेका प्रचण्डले भने उल्टै देउवाको सन्देश बाहिर सार्वजनिक गरेका छन् । ओली सन्देश के थियो भन्ने बारेमा स्पष्ट हुन सकेको छैन । स्रोतका अनुसार ओलीले तत्काल पदबाट राजीनामा दिएर नयाँ सरकार गठनको मार्ग प्रसस्त गर्न आग्रह गर्नुपर्ने एमालेको माग रहेको छ । त्यसैगरी नयाँ सरकार गठनको सम्मुखमा पुरानो सरकारले भटाभट नियुक्तीलगायतका काम कारवाहीहरु जारी राखेपछि वाम गठबन्धनको तर्फबाट दह्रोसँग अडान राख्दै तत्काल कुनै पनि राजनीतिक नियुक्ती नगर्न चेतावनी दिएको बताइन्छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी गभर्नर लगायतका कुनै पनि नियुक्ति राजनीतिक सहमति बिना नगर्न प्रधानमन्त्रीलाई आग्रह गरेको प्रचण्डको सचिवालयले जनाएको छ । प्रचण्डले भेटवार्तापछि तत्काल सरकार छाड्न आतूर रहेको कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवाको सन्देश बाहिर सार्वजनिक गरेका छन् ।
