सरकारले सात प्रदेशमा संयोजक तोक्न मिल्दैन – नेता नेपाल

तु खबर संवाददाता
२०७४ मंसिर २७, बुधबार १८:४३

काठमाडौँ, २७ मंसिर । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले मुलुकमा काम चलाउ सरकारले सात प्रदेशमा प्रतिनिधि तोक्न नहुने बताउनुभएको छ ।

काठमाडौँ क्षेत्र नं २ को बज्रयोगिनी, लप्सीफेदी लगायतका स्थानमा स्थानीयसँगको भेटघाटपछि आज आयोजित कार्यक्रममा उहाँले नयाँ जनादेश प्राप्त भइसकेको अवस्थामा वर्तमान सरकारले दीर्घकालीन प्रभाव पार्ने प्रदेश संयोजक तथा प्रतिनिधि नियुक्ति गर्न नैतिकरुपमा पनि नमिल्ने विचार व्यक्त गर्नुभयो ।

मुलुकमा कम्युनिष्ट शक्तिले जनतालाई अधिकार सम्पन्न बनाउन लामो समय संघर्ष गरेको बताउँदै पूर्वप्रधानमन्त्री नेपालले वाम गठबन्धनको सरकार बनेपछि अधिनायकवाद तथा एकतन्त्रिय शासन नआउने प्रष्ट पार्नुभयो ।

जनताले अनुभूति गर्ने गरी विकास र समृद्धिका कार्य चाँडो शुरु गरिने बताउँदै उहाँले पाँच वर्ष भित्रमा आर्थिक सशक्तिकरणका माध्यमबाट सामाजिक रुपान्तरण गरी देशको मुहार फेर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

काठमाडौँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित नेता नेपालले प्रशासनिक ढिलासुस्तीको अन्त्य गरी भ्रष्टाचारमा शून्य सहनशीलता नीति कार्यान्वयनलाई प्राथमिकता राखेर देशमा सुुशासन कायम गर्ने विषयलाई प्राथमिकतामा राखिने बताउनुभयो ।-(रासस)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*