डा भट्टराई तीन हजार मतले अगाडि (ताजा मतपरिणाम)
गोरखा, २३ मंसिर/रासस : प्रतिनिधिसभा, गोरखा–२ मा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई तीन हजार ६८ मतान्तरले नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठभन्दा अघि छन् ।
आज बिहानसम्म ४१ हजार १२२ मतगणना हुँदा डा भट्टराईले २० हजार ८९७ र श्रेष्ठले १७ हजार ८२९ मत प्राप्त गरेका छन् । गोरखा–२ मा ६० हजार मत खसेको थियो । अब १९ हजार मतगणना गर्न बाँकी छ । डा भट्टराई लोकतान्त्रिक गठबन्धनबाट आफ्ना पूर्वसहयोद्धा श्रेष्ठसँग प्रतिस्पर्धामा हुनुहुन्छ । श्रेष्ठ वाम गठबन्धनबाट उम्मेदवार हुन ।
गोरखा २ क मा नयाँ शक्तिका हरिशरण आचार्यले १० हजार ७७३ र माओवादी नेत्री कमला नहर्कीले नौ हजार तीन मत ल्याएका छन् । यहाँ २० हजार ९५९ मतगणना भएको छ । यस्तै गोरखा २ ख प्रदेशमा काँग्रेसका प्रकाशचन्द्र दवाडीले १० हजार ९१९ र माओवादी केन्द्रका अमर तमुले नौ हजार ६०७ मत ल्याएका छन् । यहाँ २१ हजार ८२२ मतगणना भएको छ । गोरखा–१ मा वाम गठबन्धनका उम्मेदवार लोकतान्त्रिक गठबन्धनभन्दा धेरै अघि छन् । माओवादी नेता हरिराज अधिकारीले १५ हजार २९८ मत ल्याउनुभयो भने काँग्रेसका नेता चीनकाजी श्रेष्ठले १३ हजार २२२ मत ल्याएका छन् । यहाँ ३२ हजार ५२० गणना भएको छ ।
गोरखा १ प्रदेश क मा माओवादी केन्द्रका लेखबहादुर थापाले ११ हजार २२ मत ल्याउँदा काँग्रेस नेता धीरन थापाले नौ हजार ३५९ मत ल्याएका छन् । यहाँ २२ हजार ४१ मतगणना भएको छ । यस्तै गोरखा १ प्रदेशसभा ९ख० मा एमालेका रामशरण बस्नेतले ११ हजार २२ मत ल्याउँदा काँग्रेसका राजेन्द्र बजगार्इँले आठ हजार ८७० मत ल्याए ।
