लोकतान्त्रिक गठबन्धनको जीतलाई कसैले रोक्न सक्दैन : उम्मेदवार कमल थापा
हेटौँडा, १८ मंसिर। लोकतान्त्रिक गठबन्धले आफ्नो अन्तिम चुनावी सभा हेटौँडामा सम्पन्न गरेको छ । सभालाई तर्फबाट मकवापुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार कमल थापाले सम्बोधन गरेका थिए । हेटौँडा बजारको बुद्धचोकमा भएको सभालाई सम्बोधनका क्रममा थापाले मकवानपुरमा लोकतान्त्रिक गठबन्धनको जितलाई कसैले रोक्न नसक्ने बताएका छन् । उपप्रधानमन्त्री समेत रहेका थापाले समग्र देशकै आर्थिक विकास र सम्बृद्धिका लागि लोकतान्त्रिक गठबन्धन बनेकाले जित सुनिश्चि भएको दावी गरे ।
उनले मकवानपुर जिल्लामा पनि आफुहरुले धेरै काम गरेको स्मरण गराउँदै केही अधुरा रहेका कामहरुको पुर्णताको लागी मतदाताले लोकतान्त्रिक गठबन्धनलाई जिताउँने विश्वास व्यक्त गरे । मकवानपुरमा अहिले भएका विकासका गतिविधि आफुहरुले सुरु गरेको दावी गर्दै थापाले पटक पटक जितेका कम्युनिष्टहरुले एउटा इट्टा थप्ने काम समेत नगरेको आरोप लगाए । जिल्लाका विभिन्न स्थानमा पुग्ने सडक, विजुली, खानेपानी लागएत हेटौँडा अस्पतालको स्तारोन्नती देखी राष्ट्रियराजमार्गका कारण हेटौँडामा देखिएको अन्यौलता समेत आफुहरुको पहलमा समाधान भएको थापाले दावी गरे। उनले लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार भएकाहरुको उचाई राष्ट्रिय राजनितिमा अरु दलका उम्मेदवारहरुको भन्दा धेरै माथी भएको बताउँदै जिल्लाको भाग्य र भविष्य लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले मात्रै कोर्न सक्ने दावी गरे ।
सभामा प्रतिनिधि सभा क्षेत्र नम्बर १ को ख का प्रदेश सभा उम्मेदवार अशोक शाक्यले जिल्लाको विकास लोकतान्त्रिक गठबन्धनको जितबाट मात्र सम्भव भएको बताउँदै एक पटक अवसर दिन आग्रह गरे । उनले यस अघि भएका निर्वाचनबाट जितेका कम्युनिष्ट उम्मेदवारहरुले सडक छेउ अशोकको बोट रोप्नुबाहेका अरु केही नगरेको आरोप समेत लगाए । लोकतान्त्रिक गठबन्धनको प्रतिनिधि सभा क्षेत्र नम्बर १ को चुनाव प्रचार प्रचार संयोजक रामचन्द्र अर्याल माइकलको सभाध्यक्षतामा भएको चुनावी सभामा नेपाली कांग्रेसका समानुपातिक उम्मेदवार पवित्रा विश्वकर्मा, राप्रपाका तर्फबाट समानुपातिक उम्मेदवार मधु अधिकारी, दिपक सिंह, राप्रपाका जिल्ला अध्यक्ष गणेश थापा, नेपाली कांग्रेस मकवानपुरका पार्टी प्रवक्त प्रदिप कोइराला, काग्रेस नेतृ रिता खनाल लगाएतले बोलेका थिए ।
