गोली हानाहान भएपछि मालकोटमा शुन्य मतदान !
कालिकोट, १० मंसिर । कालिकोटको मालकोटमा गोली हानाहान हुन थालेपछि निर्वाचन टोली दिउसै फर्केको छ । मालकोटको सल्लारुख गाउँ नजिकै राखिएको बुथबाट निर्वाचनका लागि खटिएका कर्मचारी, म्यादी प्रहरीसहितको सुरक्षाकर्मी टोली दिउसो तीन बजे नै फर्केको बताइएको छ ।
दिउसो तीन बजेसम्म कुर्दा पनि मतदान गर्न कोही नआएपछि मतदान केन्द्रमा रहेका कर्मचारी र सुरक्षाकर्मीको टोली दिउसै फर्केको थियो । मालकोटमा नन्दादेवी मावि सेरापाटामा मतदान केन्द्र राखिएको थियो । उक्त मतदान केन्द्रमा करिव पाँच दर्नजभन्दा बढी नेपाली सेनासहित, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी गरी २०० को सङ्ख्यामा सुरक्षाकर्मी राखिएको थियो । साथै नेपाली सेनाको हेिलकोप्टरबाट बिहानैदेखि सो क्षेत्रमा गस्ती पनि गरिएको थियो ।
मालकोटको शेरापाटामा केही दिन अघिदेखि प्रहरी र स्थानीयवासीबीच सामान्य झडप पनि हुँदै आएको थियो । केही दिन अघि मात्र प्रहरीले ३ जना युवालार्इ पक्राउ गरेपछि महिलाहरु जम्मा भएर प्रहरीबाट खोसेका थिए । गए राती पनि सल्लारुख गाउँलार्इ घेरा हालेर छापा मारिएको थियो । सल्ला रुख गाउँ नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डको गाउँ हो ।
आजै दिउसो मालकोटको सल्लारुख गाउँ नजिकै रहेको मतदान केन्द्रतर्फ लक्षित गरी केही व्यक्तिले अटोमेटिक हतियारले गोली चलाएका थिए । आइतबार बिहान ९ बजेतिर गोली चलाइएपछि त्यहाँ निर्वाचनका लागि खटिएका कर्मचारी आत्तिएका थिए । त्यसको जवाफ स्वरुप प्रहरीले पनि त्यसतर्फ केही राउण्ड फायर गरेको थियो । त्यसपछि केहीबेर दुबैतर्फबाट गोली हानाहान र दोहोरो भिडन्त भएको थियो । प्रहरीले अज्ञात समूहले सेल्फ लोडिङ राइफलबाट गोली चलाइएको जानकारी दिएको छ । सो क्रममा प्रहरीले २५ राउण्ड गोली चलाएको बताइएको छ । एक स्थानीयवासीले प्रहरीले भन्दा अर्कोतर्फबाट बढी गोली चलेको बताए । हुम्लाको चंखेली मतदान केन्द्रमा पनि एक मत नखसेको स्रोत बताउँछ ।
