टिप्पणी : हेटौंडा नगर, भान्सा कि खेत ?
स्थानिय तहको निर्वाचन आयो भनेर हेटौंडा नगरवासी उत्साहित छन् । हिजो प्रजातन्त्र आयो फुस्सा । फेरि प्रजातन्त्र आयो फुस्सा । आज गणतन्त्र आयो के पायो ? त्यसैले गणतन्त्र पनि फुस्सा, भन्न थालिसकेका जनताले यो स्थानिय तहको निर्वाचनलाइ कसरी उपयोग गर्छन् , हेर्न बाँकी छ । कुरो हेटौंडाको हो । हिजोको हेटौंडा नगरपालिका आज गणतन्त्र पछि उपमहानगरपालिका भएको छ । अब महानगरपालिका पनि हुने होला ! हुँदै जाला हामी शुभकामना पनि दिदै जाउला । मुख्य चासोको कुरो यसलाई भान्सा बनाउने कि खेत ? त्यो त भावी मेयर र सिंगो नगर परिषदको योजना र कार्यक्रमले देखाउला ।
विहानले दिनको संकेत गर्छ । यो संकेत नगरवासीले पनि पाएका होलान् । तर मतदाताको बाध्यतालाई कसले बुझ्नु र यहाँ !हेटौंडा उपमहानगरपालिकाको दैलोतिर खुट्टा उचाल्नेहरु यतिबेला आधा दर्जन पार्टीका आधा दर्जन अगुवा लिगलिगे दौडमा छन् । ती आधा दर्जन अगुवाका पछि पछि दौडने झण्डै ६०० खेतालाहरु छन् । तर मतदाताले यीनको विकल्प खोज्न सक्ने स्थिति छैन । पार्टीले जसलाई उठायो उसैलाई भोट हाल्नै पर्ने बाध्यताले पनि भोलिको संकेत नगरवासिले पाईसकेका छन् । परिणाम त भोलि आउने कुरा हो । चुनाव त माहोल अर्थात होहल्लाले जितिन्छ भन्छन् दलका उम्मेदवार स्वयम् ।
केहि भ्रम जनतामा पनि नभएको होइन । यो मानिसहरुको विबसता हो । के जनताले भान्से नै खोजेका हो त ? नगरकै एकजना मतदाता वडा नम्बर ३ स्थित लेवटकाशिक्षक शिवराज बर्तौला भन्छन् ‘ होइन नि । हाम्रो नगर खेतजस्तो हुनुपर्छ । भान्सा होइन । हेटौडा उपमहानगरपालिका उत्पादनमुखि होस्, वितरणमुखि होइन । ’ बर्तौलाले संविधानमा स्थानिय तहको अधिकार पनि पढेका रहेछन् । उनले अगाडि थपे ‘ संविधानले पनि हामीलाइ कानुन बनाउने अधिकार दिएको छ । पालना गर्ने मात्र होइन । ’ यति कुरा जनतालाई अझसम्म पनि कसैले बुझाउन चाहेका छैनन् । या बुझाउन नसकेका हुन् । यो कुरो जनताले बुझ्नैपर्छ नत्र धोका हुन्छ ।
भोट खसाल्न आतुर उता ५ नम्बर वडा स्थित चिसापानी निवासी यूवा विपिन सुवेदीको पनि उस्तै गुनासो छ । ‘ हामीले स्थानिय निकाय हैन , स्थानीय तह निर्माण गर्न लागेका हौं । ’ निकाय र तहबिचको अन्तर नबुझ्दासम्म जनता र उम्मेदवार दुबैमा भ्रम नहट्ने आचार्य बताउछन् । यो भ्रम चिर्नु पर्छ कि पर्दैन ? कसले चिर्ने ? पहिलो दायित्व पार्टीको हो । पार्टीहरु माहोलको पछाडी दौडन आतुर छन् । माहोलमा जसले बढी आस्वासन र भ्रमहरु छर्न सक्छ उसले चुनावमा बाजि मार्ने हाम्रो समाजमा यो यथार्थको खोजि कसले गर्ने ? हेटौंडावासीको अगाडी पुराना पार्टीहरु पनि छन् । नेपाली काँग्रेस सबैभन्दा पुरानो पार्टी । धेरै थान प्रधानमन्त्री र मन्त्रीहरु फटाइसकेको पार्टीको उम्मेदवारको चार्म उस्तै छ । उ भन्दा अलि कम पुरानो, चार थान प्रधानमन्त्री र उत्तिकै थान मन्त्रीहरु फेरीसकेको एमाले पनि के कम । सदाबहार क्रान्तिकारी पार्टी माओवादी । तीन थान प्रधानमन्त्री र दर्जनौं मन्त्रीहरु भइसकेको पार्टी जो यतिवेला देशै हाँकिरहेको छ । यस्ता होनहार पार्टी र यिनका उम्मेदवारहरुलाई नाथे नगरपालिका हाँक्न के को आइतवार ।
उता राप्रपा पनि आफुलाई उत्तिकै अब्बल दर्जाको ठान्छ । जुनसुकै ब्यवस्थामा उ विनाको सरकार सारथि विनाको रथ जस्तै देखिदै आएको छ । हेटौडा कै कुरा गर्नुपर्दा त झन कमल थापाको गृह जिल्ला नै अरे । भर्खर्र राप्रपा भित्रिएकी रेखा थापाले त झन हेटौंडावासिलाई भाग्यमानी नै घोषणा गरेर गइन । हेटौंले कमल थापालाइ भावी प्रधानमन्त्रीको रुपमा पाउनेछन् रे ! के चाहियो हामीलाई । सबै हातमा लड्डु नै लड्डु । त्यस्तै ने.क.पा. माले पनि के कम दुइ चार पटक मन्त्री त उसले चाखिसकेकै छ । मन्त्रालय चलाईसकेको पार्टीको उम्मेदवारलाइ एउटा नगरपालिका त के हो र ! अब कुरो आउछ सबैभन्दा सानो बबुरो पार्टी नयाँ शक्ति । यसको पनि गुणगान अरुभन्दा के कम ? सफल अर्थमन्त्री भएका, प्रधानमन्त्री भइसकेका डा. बाबुराम भट्टराई जसका संयोजक छन । हेटौंडाबाटै पहिलो संविधान सभामा चुनाव जितिसकेका जो जिल्ला संयोजक छन् ।यस्ता होनहार पार्टीका उम्दा उम्मेदवारहरुले यो सानो हेटौंडालाई स्वर्गै बनाइदिन्छु भन्न के गाह्रो छ र !
‘ तर गाँठी कुरो, यी सबै हिजोका भान्से हुन । अरुले तयार पारेको उत्पादन नुन÷मसला छर्केर पकाएको भन्दै बाँड्नेहरु । भान्सेलाइ बाझो खेतमा पठाएर के आशा गर्नु खै ?’ भन्छन्, हटिया निवासी एकजना बुडा बा । हो हाम्रो उपमहागरपालिका पर्याप्त सम्भावनाले भरिपूर्ण छ । यसलाइ हामीले उत्पादनमुखी बनाउनु पर्छ । वितरणमुखी होइन । लगभग सय जनाको जम्बो टोलीले बन्ने नगर परिषद् खेत हो । यसले उत्पादनका स्रोतहरु पहिल्याउछ । विउ विजन, खनिखोस्री, गोडमेल, मलजल, फुलाउने फलाउने र भित्र्याउनेसम्मको काम नगरपरिषदको हो । नुन पिरो, मरमसला जनताको स्वादअनुसार तयार पारेर पस्कने काम वडाका पाँच जना भान्सेको हो ।
हाम्रो हेटौंडा खेत हो । यसलाइ भान्सा कोठा जस्तो बनाउन दिनु हुदैन । नपत्याए तपाई मतदाता , कुनै पनि दलको मेयरको उम्मेदवारलाई जम्मा एउटा मात्र प्रश्न सोध्नुस् । जस्तोको कि, तपाई मेयर बन्नुभयो पहिलो काम के गर्नुहुन्छ ?कुनै भत्किएको पुल , सडक वा यस्तै कुनै समस्या देखाएर त्यसलाइ समाधान गर्छु, भन्छन् । तर कसैले म सबैभन्दा पहिला नगर सभाको बैठक राखेर छिटोभन्दा छिटो संविधानले दिएको अधिकार प्रयोग गर्न कानुन बनाउछु , भन्दैनन् । सबै उम्मेदवारका भाषण, घोषणा पत्र , अन्तर्वाता सुन्दा उनीहरु खुलेर हामी भान्से हौं । नगरपालिका भान्सा हो । तपाईहरुलाई के के चाहिन्छ हामी पकाएर दिन्छौं । भनिरहेका छन् । तर पकाउने चामल तरकारी कहाँबाट आउछ ? उनीहरु भन्छन् , सरकारले दिन्छ । केन्द्रले बजेट दिइहाल्छ नि ! यस्ता छन् मेयरका उम्मेदवारहरुको पारा । अब भन्नुस हाम्रो हविगत के होला ?खेताला हूँ । म उब्जानी बढाउछु । खेती गर्छु भन्नेलाई भोट दिनुस् । म यो दिन्छु , त्यो दिन्छु भन्नेलाई होइन । तर विडम्बना अहिलेसम्म कोही पनि त्यस्तो उम्मेदवार हामीले पाउन सकेका छैनौं । अन्ततोगत्वा हेटौंडा नगरि पनि भान्सा नै बन्ने खतरा बढि देखिन्छ ।
