सामाजिक सुरक्षा योजनामा बैदैशिक श्रमिकको महत्व

बुद्धीप्रसाद नेपाल
२०७७ भाद्र ३०,मंगलवार १३:५९

नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा नेपालमा सामाजिक सुरक्षा योजनाको कार्यक्रम सुरु भयो । यो कार्यक्रम सुरु भएको करिब २ बर्ष पुरा भएको छ । नेपालमा निजी क्षेत्रमा काम गर्ने श्रमिकहरुलाई मध्येनजर गरेर सुरु गरिएको सामाजिक सुरक्षा योजनाले बिस्तारै गति लिन खोजेको देखिन्छ । अहिलेको सन्दर्भमा सामाजिक सुरक्षा योजना के हो र यसले आम श्रमिकलाई कसरी समेट्न सक्दछ भन्ने कुरा महत्वपूर्ण बहसको विषयमा बनेको छ ।

सामाजिक सुरक्षा योजनाले आम श्रमिक र रोजगारदातालाई के कति फाइदा हुन्छ, यसको प्रयोगले राज्यसंयन्त्रमा कसरी सहयोग पुग्दछ, आम श्रमिकले सामाजिक सुरक्षा योजना अन्तर्गत सामाजिक सुरक्षा कोषको बारेमा कति बुझेका छन्, आम रोजगारदाताले यो योजनालाई कसरी लिने गरेका छन् भन्ने विषयमा जानकारी दिने उदेश्यले सामाजिक संजाल तथा सञ्चार माध्ययममा सामाजिक सुरक्षा योजनाका केही विशिष्ट व्यक्तिहरुबाट यससंग सम्बन्धित लेख रचना तथा जानकारीहरु प्रकाशित भइनैरहेका हुन्छन् ।

नेपालमा श्रमिकको अवस्था

हाम्रो देशमा अहिलेसम्म कति श्रमिक छन्, उनीहरु कहाँ र कसरी काम गर्दै आइरहेका छन् भन्ने विषयमा कुनै तथ्याङ्क छैन ।
श्रमिकको अवस्था यति कमजोर रहेको छ कि कुनैपनि श्रमिकले गरिरहेको रोजगारीको कूनै ग्यारेन्टी छैन । होटल, बैँक तथा वित्तिय संस्था, अस्पताललगायतका केही क्षेत्रमा श्रमिकबारे केही तथ्याङ्क राख्ने गरिएको भएपनि अन्य निजी क्षेत्रमा श्रमिकबारे कुनै तथ्याङ्क भेटिँदैन ।
आम सञ्चार क्षेत्रमा झन् ठुलो अन्तर रहेको पाइएको छ । मिडिया सञ्चालकहरुले समेत श्रमजिवी पत्रकारहरुको कुनै तथ्य नराखेको अवस्था छ । कुनैपनि श्रमिकमाथि कार्यस्थलमा हुने दूव्र्यवहारहरु र भैपरी आउने समस्याको बारेमा रोजगारदाताले कुनै समन्वय नगरेको गुनासो हामीले थाहा पाएकै छौँ । त्यसमाथि रोजगारदाताले श्रमिकसंग श्रमसम्झौतासमेत नगरी श्रममा लगाउँदै आएका छन् ।

रोजगारदाता र श्रमिक बिचमा ठुलो अन्तर छ । यसलाई विभिन्न बिषयले निर्धारण गर्छ । रोजगारदाताले आफुलाई मन नलागेको अवस्थामा श्रमिकलाई कामबाट निष्काषित गर्ने गरेका छन् । काम गर्नुभन्दा अगाडि श्रम सम्झौता नगर्ने र श्रमिकलाई अनावश्यक मानशिक तनाव हुने विषय नेपालमा सामान्य जस्तै बनिसकेको छ ।

यी सबै किन प्रसंग भन्दा बहिर लेखियो भनेर लेखकलाई प्रस्न अवश्य आउन सक्छ । सामाजिक सुरक्षा योजना बुझ्नलाई पहिला श्रमिकको अबस्था बुझ््नुपर्ने हुनाले श्रमिकको अवस्थामा केही जानकारी गराउने प्रयास गरेको छु ।

सामाजिक सुरक्षा योजना के हो ?

आर्थिक रुपमा सक्रिय एवम स्वस्थ अवस्थामा देश विकाशमा योगदान गरेकालाई कठिन समय सामना गर्नका लागि साथ सहयोग सुनिश्चित गर्नु सरकारको महत्वपूर्ण दायित्व हो । ‘कठिन समयमा’ भन्नाले विरामी, बेरोजगारी, दुर्घटना, अशक्त, अपाङ््ग, प्रशुति, बृद्धअवस्थालगायतका अवस्थाको लागि अहिले गरेको श्रमको केही अंशले सहज बनाउने छ । यीनै जोखिम र जोखिमजन्य अवस्थाको सामना गर्न सबैबाट थोरै अंशदानको मध्यमबाट एक मजबुद सामाजिक सुरक्षा प्रणलीको व्यवस्था गरिएको छ ।

सामाजिक सुरक्षा प्रणाली सरकारद्धारा सञ्चालित यस्तो कार्यक्रम हो जसमा सरकारद्धारा सञ्चालन गरिएको कोष अथवा प्रणालीको उपयोग गरेर विषम परिस्थितिका कारण काम गर्न वा आयआर्जन गर्न सक्षम नभएकाहरुलाई भुक्तान गरिन्छ ।

अनपेक्षित परिस्थितिका कारण कसैले काम गर्न नपाएको वा गर्न नसक्ने अवस्था आएको खण्डमा र भइरहेको आम्दानीमा कुनै कारणले अवरोध सिर्जना भएको खण्डमा मान्छे भोकै पर्न नपरोस् भनेर स्थापना गरिएको प्रणाली सामाजिक सुरक्षा योजना हो ।

योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत रोजगारदाताले श्रमिकको आधारभुत तलबबाट ११ प्रतिशत रकम कट्टा गरी त्यसमा श्रमिकको आधारभुत तलबको २० प्रतिशत थपेर कूल ३१ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्ने प्रावधान छ ।

सामाजिक सुरक्षा प्रणाली करमा आधारित र योगदानमा आधारित २ किसिमका छन् । नेपालमा रहेर नेपालमा नै श्रम गर्नेहरुले बिधिबाट सामाजिक सुरक्षा योजनामा अबद्ध भएका सुविधा लिन सक्छन् । तर बैदेशिक रोजगारीमा हुनेहरुलाई कसरी आबद्ध गर्न सकिन्छ त ? यसबारे राज्यले गम्भीरतापूर्वक सोच्नुपर्छ ।

सामाजिक सुरक्षा योजनामा बैदेशिक श्रमिक

नेपाल प्राकृतिक रुपमा सबै बिषय बस्तुुले भरिपूर्ण छ । यहाँ कच्चा पदार्थ र जडिबुटीको भण्डार नै छ । जलस्रोतको दोस्रो धनी देशको रुपमा पनि नेपाल विश्वमानै परिचित छ । तर आवश्यक उद्योग, कलकारखाना स्थापना गरी संचालनमा ल्याउन सकिएको छैन । स्थापना भएका कतिपय उद्योग कलकारखानाहरु पनि बन्द अवस्थामा छन् । जसका कारण मुलुकका युवाशक्ति बैदेशिक रोजगारीमा जाननुपर्ने बाध्यता छ । उनीहरु बैदेशिक रोजगारीमा जाने क्रम रोकिएको छैन, यथावत छ ।

नेपालमा सामाजिक सुरक्षा योजना सुरु हुने भयो भन्दा उत्साहित हुने श्रमिक नेपालमा भन्दा विदेशमा धेरै छन् । सामाजिक सुरक्षा योजना सुरु हुन लागेको करिब २ बर्ष पुरा भइसक्दा पनि अहिलेसम्म बैदेशिक रोजगारीमा जाने श्रमिकलाई अब्बल गराउन सकिएको छैन । हो जुन देशमा काम गर्न गयो तेही देशको नियम, कानून र श्रमका विभिन्न कानूनलाई श्रमिकले पालना गर्नुपर्ने हुन्छ, अहिलेसम्म बैदेशिक रोजगारीमा कति जना गएका छन् र कुन देशमा कति संख्यामा रहेका छन् भन्ने डाटा नेपाल सरकार बैदेशिक रोजगार महाशाखामा उपलब्ध छ । पकैपनि बैदेशिक रोजगारीमा हुनेहरुलाई कसरी सामाजिक सुरक्षा योजनामा सामेल गर्ने भन्ने विषयमा आवश्यक छलफल गर्नुपर्ने देखिन्छ ।

नेपाल सरकारको बैदेशिक रोजगार महाशाखाको सन् २०१४ देखि सन् २०१७ सम्मको तथ्याङ्कमा १९ हजार ४ सय १९ जना बैदेशिक रोजगारीमा गएको देखिन्छ । यी सम्पूर्ण श्रमिकहरुले सामाजिक सुरक्षा कोषमा आबद्ध हुने अवसर पाउन सक्ने हो भने राज्यलाई धेरै फाइदा हुने थियो । देशको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा भनेको रेमिटेन्स नै हो । अब बैदेशिक रोजगारीमा जाने र गएर श्रम गरिरहेकाहरुलाई सामाजिक सुरक्षा योजनामा सामेल गराउन सक्ने हो भने श्रमिकलाई पनि सधँै रेमिटेन्स मात्र पठाएको होइन मेरो भोलिको लागि पनि केहि सञ्चित गरिरहेको छु भन्ने महसुस हुन्छ ।

करिब १४ लाख श्रमिक विदेशमा काम गर्दै आएका छन् । तर नेपालमा अहिलेसम्म १ लाख ७२ हजार मात्र सामाजिक सुरक्षा कोषमा आबद्ध भएको तत्थ्याङ्क हामीले थाहा पाएका छौँ । सामाजिक सुरक्षा कोषले अब बैदेशिक रोजगारीमा हुनेहरुलाई अब्बल गराउनका लागि नेपालको जस्तो श्रमिक र रोजगारदाताले जम्मा गरेको रकम जस्तो प्रणाली पक्कै छैन, बैदेशिक कम्पनीसंग त्यो सम्झौता हुने सम्भावना कम नै हुन्छ । नेपाल सरकारले सरकारी तवरबाट सम्झौता गरेर कामदार पठाएको मुलुक दक्षिण कोरियाबाट सामाजिक सुरक्षा कोषको अबद्धता सुरु गर्ने हो भने अहिले भर्खर करिब ४० हजार श्रमिक सामाजिक सुरक्षा प्रणालीमा आबद्ध हुन सक्छन् ।

नेपाल सरकारको रोजगार महाशाखा अन्तर्गत कोरिया शाखामा रहेका सबै श्रमिकको डाटालाई सामाजिक सुरक्षा योजना महाशाखा अन्तर्गतको लगानी कोषले पहल गरेर यो आवद्धताको काम सुरु गर्ने हो भने देश र श्रमिक सबैलाई फाइदा हुनेछ । श्रमिकको केही प्रतिशत रकम प्रत्येक महिना सामाजिक सुरक्षा कोषमा जाने व्यवस्था गर्न र त्यसमा नेपाल सरकारले केही रकम थपेर सामाजिक सुरक्षा कोषमा जम्मा गर्ने हो भने बैदेशिक रोजगारीमा रहेका श्रमिकहरुले ६० बर्षपछि केही राहतको अनुभूति गर्ने थिए । अब विदेश जानेको हकमा भने विदेश जानुभन्दा अगाडि नै श्रमिक र सामाजिक सुरक्षा कोष बिचमा सम्झौता गरेर मात्रै जानुपर्ने व्यवस्था लागु गर्नुपर्दछ । र श्रमिकलाई सामाजिक सुरक्षा कोषको बारेमा आवश्यक परामर्श दिनुपर्दछ ।

अन्त्यमा बैदेशिक रोजगारीमा जाने श्रमिकले विदेशमा योगदान गरेर पनि नेपालमा भविष्यका लागि आफ्नो केही रकम सञ्चित गर्न सकिन्छ भन्ने उदारणीय काम हुनेछ । नेपालमा श्रम गर्नेहरुले १०, १५ बर्षमा श्रम गरेर हुन आउने रकम भन्दा बैदेशिक रोगजारमा जाने श्रमिकको ८, १० बर्षको कोषमा हुन आउने रकममा पक्कै पनि फरक आउने छ । सामाजिक सुरक्षा कोषले पनि यस योजनामा बैदेशिक श्रमिकहरुलाई पनि समेट्नेछ भन्ने ठूलो आशा छ, जसबाट श्रमिकहरुले उच्च सम्मानको महसुस पनि गर्नेछन् ।

 

 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*