सिन्धुपाल्चोक ‘पहिरो जिल्ला’

पत्रपत्रिका
२०७७ श्रावण ३२, आईतवार ०८:४८
file-photo

काठमाडौँ । साउन १७ शनिबारको रात एउटा हल्ला चल्यो– ‘सीमावर्ती चीनको उच्च स्थानमा रहेको ताल फुट्ने जोखिम छ । भोटेकोसी तटीय क्षेत्रका बासिन्दाले सतर्क रहनू ।’ जिल्ला प्रशासनले नै सतर्क गराएपछि बाह्रबिसेलगायत तटीय क्षेत्रका बासिन्दाका कान ठाडा भए । रातभर सतर्कतामा बित्यो तर केही भएन ।

विगतदेखि नै सिन्धुपाल्चोक जिल्लाका लागि सधैं हल्ला चलेर टर्ने सुखद संयोग छैन । ०७१ साउन १७ को जुरेपहिरोमा एक सय ४५ जनाले ज्यान गुमाए । एक सय २७ परिवार पूर्ण रूपमा विस्थापित भए । ०७२ सालको भूकम्पले मुलुकभरमा सबैभन्दा धेरै यहाँ तीन हजार पाँच सय ७५ जनाले ज्यान गुमाए । ६३ हजारभन्दा बढी घर पूर्ण रूपमा ध्वस्त भए ।

भूकम्पका कारण सुक्खा पहिरोले दर्जनौं बस्ती बस्न नहुने भए । ०७३ असारमा आएको भोटेकोसीको बाढीले लिपिङ, तातोपानीलगायतका ८१ घर बगायो । ०७४ साउन ८ गते रातिको पहिरोले अरनिको राजमार्गको लार्चास्थित भोटेकोसीको मोटरेवल पुल नै नदीमा खसाल्यो ।

पहिरोले पुल खसालेपछि चीनसँगको यातायात सम्बन्ध टुट्यो । असार अन्तिम साता मात्रै बाह्रबिसे नगरपालिकाको जम्बु, भोटेकोसी गाउँपालिकाको बुल्कोटे र फुलपिङकट्टी, थाङपालधापको बरुवा एवं मेलम्चीमा गएको पहिरोमा २० जनाको मृत्यु भएको छ भने २१ जना हराइरहेका छन् । शुक्रबार बिहान जुगल गाउँपालिकाको लिदीमा गएको पहिरोमा १३ घर पुरिँदा १८ जनाको मृत्यु भएको छ । २१ जना अझै बेपत्ता छन् । वर्षायाम सुरु भएको पछिल्लो दुई महिनामा जिल्लामा बाढीपहिरोले ३६ जनाको मृत्यु भएको छ भने ४४ जना बेपत्ता छन् । शुक्रबारको लिदी गाउँको पहिरोमा परेकासमेत यस अवधिमा १८ जना घाइते भएका छन् ।

यी पछिल्ला उदाहरण हुन् । बितेको ६ वर्षयता वर्षायाममा जिल्लामा पहिरो नगएको र धनजनको क्षति नभएको वर्ष छैन । मानवीय मात्र होइन भौतिक संरचनाको क्षति त्यतिकै भएको छ भने सयौं विस्थापितहरू घरबारविहीन भएका छन् । विस्थापित हुनेहरूलाई सरकारले पुनर्वास गराएको उदाहरण भने भेटिँदैन । बाढीपहिरोले जलविद्युत् आयोजना, विद्यालय, सडक, खेतीयोग्य जमिन, पुल, यातायातका साधन, धार्मिक एवं पर्यटकीय स्थल, होटल तथा रिसोर्टहरूका बर्सेनि अर्बौंको क्षति पुर्‍याइरहेको छ ।

विशेषतः लेकाली क्षेत्र, सुनकोसी, भोटेकोसी र ब्रह्मायणी नदीको आसपासमा बर्सेनि हुने क्षति भूकम्पपछि झन्–झन् बढ्दै गएको देखिन्छ । अरनिको राजमार्गको जुरेदेखि चीनको सीमा जोड्ने तातोपानीसम्मको २६ किलोमिटर सडक आसपासमा बर्सेनि हुने यस्ता घटनाले यो क्षेत्र मानव बसोबासका लागि उपयुक्त नै छैन कि भन्ने जिज्ञासा उठ्न थालेको छ । उत्तरी सीमा जोड्ने बाह्रबिसे–तातोपानी सडक भोटकोसीको बाढी र माथिल्लो भागबाट आएको पहिरोले क्षतविक्षत बनाएको छ । उक्त सडक निर्माण तत्काल नहुने अवस्था छ ।

भोटेकोसी गाउँपालिका, ब्रह्मायणी करिडोरको सन्चगाउँ, लिदी, ङेम्लिुङ, नाम्फा, बराम्ची, कुम्मेश्वर, सकुलीलगायत भिरालो लेकाली बस्तीका बासिन्दाका लागि वर्षायामको रात र दिनहरू भय, त्रास र पीडाको वर्ष हुने गरेको छ । कति बेला कुन बस्ती बगाउँछ र कतिले आफ्नो पारिवारिक विछोडको पीडा भोग्नुपर्ने हो हिसाब हुन छाडेको छ । कुन बस्ती कुन दिन उजाड हुने हो यकिन हुन छाडेको छ । जुगल गाउँपालिका–२ का वडाध्यक्ष प्रताप लामा बेलुका सुतेको मान्छे बिहान भेट हुन्छ कि हुँदैन भन्ने कहाली लाग्दो त्रासदी जीवन बिताउन बाध्य हुनुपरेको बताउँछन् । लिदी गाउँका बासिन्दाले आफूलाई पटक–पटक सुरक्षित स्थानमा लैजान माग गरेको स्मरण गर्दै भन्छन्, ‘आफूले समेत माथिल्लो निकायमा कुरा राखे पनि समाधान भएन ।’ बाढीपहिरोले बर्सेनि हुने धनजनको क्षति रोक्न सरकारले प्रयास नगरेको गुनासो बढ्दै गएको छ । घटनाको रोकथाम र न्यूनीकरणका लागि गरेको प्रयास पनि प्रभावहीन देखिएका छन् । आजको कानित्पुर दैनिकमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*