बागमतीका १ सय १९ स्थानीय तहलाई साढे २ अर्ब बाँडफाँड, मकवानपुरमा २० करोड

तु खबर संवाददाता
२०७७ श्रावण २९,बिहीबार १६:०३
बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, हेटौंडा । तस्बिरः तु खबर ।

मकवानपुर । बागमती प्रदेश सरकारले १ सय १९ स्थानीय तहलाई सवारीसाधन करबापत झण्डै साढे २ अर्ब रुपैयाँ बाँडफाँड गरेको छ ।

प्रदेशका स्थानीय तहहरूले गत आव २०७६-७७ मा सवारी साधन करबापत झण्डै साढे २ अर्ब रुपैयाँ प्राप्त गरेका हुन् । १ साउन २०७६ देखि  २५ असार २०७७ सम्म प्रदेशका १ सय १९ वटा स्थानीय तहलाई २ अर्ब ४८ करोड १४ लाख रुपैयाँ बाँडफाँड गरिएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ ।

मुलुक संघीयतामा गइसकेपछि प्रदेश सरकारमार्फत उठाउने सवारी कर प्रदेशलाई ६० प्रतिशत राखी ४० प्रतिशत स्थानीय तहको खातामा जम्मा गरिदिने व्यवस्था रहेको छ । सोहीअनुरूप प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार गरेको सूत्रको आधारमा स्थानीय तहहरूलाई सवारी करबापत प्राप्त भएको रकममध्ये ४० प्रतिशत रकम बाँडफाँड गरिएको हो ।

बागमती प्रदेश सरकारले प्रदेशभर १० वटा यातायात कार्यालय खडा गरी सवारी साधन कर संकलन गर्दै आएको छ । कार्यालयबाट उठेको रकम प्रदेश विभाज्य कोषमा हुन्छ । प्रदेशका १३ जिल्लामा ३ वटा महानगरपालिका, १ वटा उपमहानगरपालिका, ४१ वटा नगरपालिका तथा ७४ वटा गाउँपालिका गरी ११९ स्थानीय तह छन् । प्रदेशभित्र काठमाडौं, ललितपुर र भरतपुर महानगरपालिका छन् भने हेटौँडा १ मात्र उपमहानगरपालिका हो ।

मकवानपुरका १० स्थानीय तहहरूले पनि झण्डै २० करोड रुपैयाँभन्दा बढी रकम प्राप्त गरेका छन् । कोष तथा लेखा नियन्त्रक कार्यालय हेटौँडाका अनुसार मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले सबैभन्दा बढी ६ करोड १० लाख ६४ हजार रुपैयाँ सवारी कर बाँडफाँडबाट प्राप्त गरेको छ ।

त्यस्तै, थाहा नगरपालिकाले ३ करोड ३७ लाख १४ हजार, ईन्द्रसरोबर गाउँपालिकाले १ करोड १५ लाख ९७ हजार, कैलाश गाउँपालिकाले १ करोड ३ लाख ६१ हजार रुपैयाँ पाउँदा राक्सिराङ गाउँपालिकाले भने ९० लाख २३ हजार रुपैयाँ पाएको छ ।

मनहरी गाउँपालिकाले १ करोड ५१ लाख २३ हजार, भीमफेदी गाउँपालिकाले १ करोड ७३ लाख ९० हजार र मकवानपुरगढी गाउँपालिकाले सवारी कर बाँडफाँड बापत ९६ लाख ९४ हजार प्राप्त गरेको कार्यालयले जानकारी दिएको छ । बकैया गाउँपालिकाको खातामा १ करोड ९० लाख, बागमती गाउँपालिकाको १ करोड ३७ लाख ५७ हजार रुपैयाँ सवारी करबापत रकम जम्मा भएको छ ।

स्रोतः शिलापत्र

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*