राष्ट्रसेवक कर्मचारीलाई नयाँ सोच, चिन्तन र व्यवहार परिवर्तन गरी जनतामुखी हुन मन्त्री फुयालको निर्देशन

तु खबर संवाददाता
२०७७ श्रावण १४, बुधबार १८:५७
file-photo

मकवानपुर । बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयालले राष्ट्रसेवक कर्मचारीहरुलाई नयाँ सोच, चिन्तन र व्यवहार परिवर्तन गरी जनतालाई सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।

प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले गत आव २०७६/०७७ को मन्त्रालयसँग सम्बन्धित कार्यालय प्रमुखहरुको लागि आयोजना गरेको वार्षिक समिक्षा गोष्ठी तथा कार्यसम्पादन सम्बन्धि करार सम्झौता सम्बन्धित कार्यक्रमको समापन समारोहलाईं सम्बोधन गर्दै मन्त्री फुयालले राष्ट्रसेवक कर्मचारीहरुलाई सो निर्देशन दिएका हुन् ।

मन्त्री फुयालले सरकारको सिमित स्रोतसाधनलाई सम्बन्धित कार्यालय प्रमुखहरुले भौगोलिक अवस्थाको अनुगन गर्न र आफ्नो कार्यशैलीलाई परिवर्तन गरी निश्चित समयभित्र जनतालाई सेवा प्रवाह गर्नेतर्फ केन्द्रीत हुनुपर्ने धारणा व्यक्त गरे ।

उनले प्रदेशको १० जिल्ला जोड्ने पुष्पलाल चक्रपथको निर्माण र पोष्ट बहादुर बोगटी भीमफेदी सुरुङमार्गको निर्माणको लागि सरकारले प्राविधिक प्रकृया सुरु गरी निर्माण कार्य सम्पन्न गर्न सरकारले सम्बन्धित निकायलाई बजेटसहित निर्देशन दिई सकेको पनि जानकारी गराए ।

उनले स्थानीय निकायहरु, प्रदेशसभाका सदस्यहरुलगायत राजनीतिक दलहरुको सिफारिसमा आएका राष्ट्रिय गौरबको आयोजना र पूर्वाधार विकासको योजनालाई कुनै पनि हालतमा हेरफेर नहुने र भौगोलिक अवस्थाको आधारमा स्थान परिवर्तन गर्नु परेमा सरकारले आवश्यकता अनुसार योजना र स्थान परिवर्तन गरि पठाइने बताए ।

दुई दिनसम्म संचालन भएको वार्षिक समिक्षा गोष्ठीमा मन्त्रालय अन्तरगत रहेको प्रदेशको १३ वटै जिल्लाको विभिन्न कार्यालय प्रमुखहरुले सरकारले तोकिएको वार्षिक कार्यक्रम अनुसारको कार्यप्रगतीको प्रतिवेदन प्रस्तुत गर्दै चालु आवको लागि तोकिएको योजना कार्यान्वयनको लागि नयाँ मापदण्ड अनुरुप कार्य गर्ने दृढता व्यक्त गरिएको उक्त मन्त्रालयका अधिकृत हरिप्रसाद उप्रेतिले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*