भानु माविमा भवन बनाउँदा बिम नै गायब, १६ एमएमको रड ६ वटा हुनुपर्नेमा ४ वटामात्रै प्रयोग

तु खबर संवाददाता
२०७७ असार २४, बुधबार २०:४९

मकवानपुर । मकवानपुरगढी गाउँपालिकास्थित भानु माद्यमिक विद्यालय परिसरमा निर्माण थालिएको नयाँ भवन प्रचलित मापदंड विपरित रहेको तथ्य बाहिर आएको छ ।

मकवानपुरगढी गाउँपालिका वडा नं. ३ मा रहेको सो विद्यालय परिसरमा निर्माण भइरहेको १२ कोठे भवन आचारसंहिता र भवन निर्माण सम्बन्धी मापदंड विपरित रहेको खुलेको हो ।

सो भवन निर्माण गर्दा त्यसको भुइँ (प्राविधिक भाषामा प्लिन्थ लेभल भनिन्छ ) मा राख्नुपर्ने वेस बिम नराखेको पाइएको हो । सामाजिक विकास मन्त्रालय, बागमती प्रदेशले नमूना विद्यालय विकास कार्यक्रम अन्तर्गत भवन निर्माण गर्न बजेट उपलब्ध गराएको थियो । सो बजेटभित्र रहेर भवन निर्माण गर्न विद्यालयले निर्माण समिति समेत बनाएको छ । सो समितिले पनि भवन निर्माण गर्दा बेस बिम राख्न छुटेको स्वीकार गरेको छ ।

निर्माण समितिका संयोजक चन्द्रबहादुर योञ्जनले पहिले भवन निर्माणको काम सुरु गर्दा प्राविधिकले नै बेस बिम राख्न नपर्ने बताएको तु खबरलाई जानकारी दिए । ‘पहिले प्राविधिकले पर्दैन भने, मैले प्राविधिकको सल्लाह अनुसार नै गरेको हो–उनले भने ।

प्लिन्थ लेभलको कूल १० वटा बिममध्ये ४ वटा बिम नै नहाली निर्माण कार्य अघि बढाइएको छ । प्राविधिक बिष्णु ढुंगानाले भने पहिलो (फस्ट बिम) नभएर केही पनि फरक नपर्ने दावी गरेका छन् ।

त्यसैगरी निर्माणका लागि प्रयोग  गरिने सामग्री(मसला) मा सिमेन्ट कम प्रयोग गरिएको छ । मसला तयार पर्दा सिमेन्ट, वालुवा र गिटीको मात्रामा पनि ठगी गरिएको स्रोतको दावी छ । स्रोतका अुनसार, भवन निर्माण गर्दा १६ एमएमको ६ वटा रड प्रयोग गर्नुपर्नेमा ४ वटामात्रै प्रयोग गरिएको छ ।

गल्ती भएकै हो, – प्रअ थापा

विद्यालयका प्रअ राजेन्द्र थापाले प्लिन्थ बिम (फस्ट बिम) नहाली निर्माण अघि बढाइएको स्वीकार गरेका छन् ।
उनले करिब  २० दिन भित्र डिपिआर अन्तरगतको बेस निर्माणको काम सक्नुपर्ने बाध्यता भएकोले निर्माणको काममा केही कमजोरी भएको हुनसक्ने बताए ।

चालु आवभित्रै निर्माणको काम सक्नुपर्ने बाध्यता थियो, भवन प्राविधिक निर्माणस्थलमै हुनुहुन्थ्यो, प्राविधिककै रोहबरमा काम भएको हो, तर निर्माणको जिम्मा पाएको समितिले ४ वटा बिमनै नहाली काम अघि बढाउनुभएछ – प्रधान्याध्यापक थापाले भने ।

‘गल्ती भएको हामी स्वीकार्छौँ, भवन प्राविधिकहरुसंग निरन्तर सल्लाह लिइरहेका छौँ । भवन बलियो र गुणस्तरीय कसरी हुन्छ भन्ने बारे ब्यापक छलफल र सल्लाह लिएर निर्माणको काम अघि बढाइने छ’ – उनले थपे ।

बिम नभएर केही हुँदैन, प्राविधिक ढुंगाना

मकवानपुरगढी गाउँपालिकाका प्राविधिक विष्णु ढुंगानाले प्लिन्थ बिम नहालेर केही फरक नपर्ने भन्दै गैरजिम्मेवारपूर्ण जवाफ दिएका छन् । तु खबरसंग कुराकानी गर्दै प्राविधिक ढुंगानाले भने, ‘ बिम छुटेको हो, हामी माथि थप्छौँ, केही फरक पर्दैन ।’

स्रोतका अनुसार भवन निर्माणको लागि नक्सा उनकै कन्सल्टेन्सीबाट बनाइएको हो, उनकै कन्सल्टेन्सीबाट भवनको नक्सा निर्माण गरिएको र उनकै रोहबरमा निर्माणको काम भएकोले बिम नहालेको बारे उनी जानकार छन् – स्रोतले भन्यो ।

प्राविधिकले बिम चाहिँदैन भन्नुभयो – निर्माण समितिका संयोजक योञ्जन

निर्माण समितिका संयोजक योञ्जनले लेआउटको चरणमा भवन प्राविधिकले प्लिन्थ बिम नहालेपनि हुन्छ भन्नुभएकोले आफुले बिम नहाली निर्माण अघि बढाएको बताएका छन् ।

६ वटामात्रै बिम हाल्दा हुन्छ भन्नुभयो, मैँले प्राविधिकको सल्लाह अनुसारनै गरेको हो – उनले भने ।
अन्य कमिकमजोरी भएको रहेछ भने सुधार्ने उनले बताए ।

प्रदेश सरकारको बजेट बालुवामा पानी

बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले मकवानपुर जिल्लाका २ वटा विद्यालयहरुलाई नमुना विद्यालयको रुपमा विकास गर्ने कार्यक्रम अघि सारेको छ ।

सोही कार्यक्रम अनुसार श्री भानु  माध्यामिक विद्यालयमा १२ कोठे ३ तल्ले नयाँ भवन निर्माणका लागि पहिलो चरणमा रु ५० लाख विनियोजन गरेको छ ।

५ बर्षमा भवन निर्माण सम्पन्न गरिने लक्ष्य लिइएको छ भने करिब ४ करोड रुपैँया लागत लाग्ने अनुमान गरिएको छ ।
प्रदेश सरकारले पहिलो चरणमा रु ५० लाख विनियोजन गरेको छ तर निर्माणमा गम्भीर लापरबाही भएको तथ्य बाहिर आएपछि अब सामाजिक विकास मन्त्रालयले यसलाई कसरी समाधान गर्छ त्यो भने हेर्न बाँकी छ ।

अनुगमन गर्यौँ, सच्याउन निर्देशन दिएका छौँ – पुडासैनी

मकवानपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले यो गुनासो गाउँपालिकासम्म आइपुगेको र यसबारे गाउँपालिकाले पनि अध्ययन गरिरहेको तु खबरलाई जानकारी दिए । हिजो हामीले अनुगमन गरेका थियौँ, गल्ती सच्याउन भनेका छौँ, पुडासैनीले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*