बागमती प्रदेश–नेकपा संसदीय दलको बैठक जारी, बजेटमाथि छलफल गरिँदै
मकवानपुर । नेकपा संसदीय दल बागमती प्रदेशको बैठक अहिले संचालन भइरहेको छ । बैठकमा राष्ट्रिय राजनीतिमा आएको संकटको विषयमा गम्भीरतापूर्वक छलफल भइरहेको बागमती प्रदेश नेकपा संसदीय दलका प्रमुख सचेतक केशवराज पाण्डेले जानकारी दिएका छन् ।
उनका अनुसार, बैठकमा बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७७/०७८ को लागि सार्वजनिक गरेको बजेटमाथि छलफल भइरहेको छ ।
प्रस्तुत गरिएको बजेटलाई आवश्यक परे संसोधन गरेर सबै पक्षलाई समेटी अघि बढ्ने गरी छलफल अघि बढाइएको पाण्डेले जानकारी दिए ।
प्रदेश सरकारले गत असार १ गते आगामी आवको लागि बजेट सार्वजनिक गरेको थियो । बजेटमाथि सत्तारुढ दलकै सांसदहरुले असन्तुष्टि व्यक्त गरिरहेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र विपक्षी अन्य दलका प्रदेश सभा सदस्यहरुले पनि प्रस्तुत बजेट हचुवाको भरमा ल्याइएको र कार्यान्वयनमा समस्या भएको भन्दै टिप्पणी गरिरहेका छन् ।
प्रदेश सभाको बैठक आज बिहिबार दिनको १ बजे बस्ने भएको प्रदेश सभा सचिवालयले तु खबरलाई जानकरी दिएको छ ।
