यस्तो छ पर्यटन प्रवर्धनका लागि थाहा नगरको नीति तथा कार्यक्रम

तु खबर संवाददाता
२०७७ असार १३, शनिबार ०९:०८

मकवानपुर । पर्यटकीय गन्तव्यको रुपमा रहेको थाहा नगरमा पर्यटन प्रवर्धनको लागि विभिन्न योजनाका साथ काम अघि बढाइएको छ । नगर पर्यटन गुरु योजना निर्माण भइसकेको र आगामी आर्थिक वर्ष ०७७/७८ मा पर्यटन गुरुयोजनाले पहिल्याएका क्षेत्रहरुमा आधारित भएर पर्यटन विकासका योजनाहरु संचालन गरिने नगर प्रमुख लवशेर विष्टले जानकारी दिएका छन् ।

त्यसैगरी नीजि क्षेत्रको समेत सहकार्यमा चित्लाङ्, चन्द्रागिरी भन्ज्याङमा पार्क सहितको भ्यू टावर निर्माण गर्न संभाव्यता अध्ययन भई निर्माण प्रारम्भ भएकोमा पूर्णताको लागि बागमती प्रदेश सरकार समक्ष पहल गरिने नगरपालिकाले जनाएको छ ।

नगरस्तरीय पर्यटन विकास बोर्ड गठन गरी पर्यटनको विकासमा जोड दिइने भएको छ । चन्द्रागिरी–दामन–सिमभन्ज्याङ ट्रेकिङ ट्रेल र साइकल रुट निर्माणको काम प्रारम्भ भइसकेको जनाइएको छ ।

दामन क्षेत्रमा सार्वजनिक जग्गा पहिचान गरी पर्वतीय सम्मेलन केन्द्र निर्माणको काम सुरु गर्नुको साथै ऋषेश्वर, गोरखनाथ, इन्द्रायणी, पाण्डुकेश्वर, कुटेश्वरी, बज्रवाराही, नन्दीकेश्वर, उन्मत्तेश्वर, चम्पकेश्वर, स्वच्छन्दभैरव, गालवेश्वर मन्दिर, गौखुरेश्वर, सितापाइला, झम्केश्वरी, बागेश्वरी, मनकामना, सेति गणेशलगायत अन्य धार्मिक क्षेत्रहरुलाई धार्मिक पर्यटनको रुपमा भौतिक पूर्वाधार निर्माण गर्दै लगिने नगरले सार्वजनिक गरेको नीति कार्यक्रममा उल्लेख छ ।

मूलाबारी चौरलाई राष्ट्रिय बिभूति पार्क र कोटथुम्कीलाई पर्यटन प्रर्वद्धन गर्न डिपीआर समेत तयार भैसकेको र पुर्वाधार निर्माणको कार्यसमेत थालनी गरिने भएको छ । दामन पिकनिक स्पट, डाँडाबासको स्मारक पार्क पिकनिक स्पट, बाराही डाँडा पिकिनिक स्पटको स्तर उन्नती गरिने भएको छ ।

सार्वजनिक जग्गाहरुको पहिचान गरी पर्यटन व्यवशाय संचालन गर्न जग्गा माग भई आएमा नगरसभाबाट निर्णय गराई जग्गा भाडामा उपलब्ध गराउन सम्बन्धीत निकायहरुमा पहल गरिने भएको छ । नगरका विभिन्न संभाव्य स्थानहरुमा बञ्जिजम्प, प्याराग्लाइडिङ, रकक्लाइमिङ, जिप फ्लाइङ, जस्ता सहासिक पर्यटन व्यवशाय संचालन गर्न चाहने व्यवशायीहरुलाई तत्काल व्यवशाय संचालन गर्न स्वीकृती दिइने भएको छ ।

भिमफेदी–सिमभन्ज्याङ केवलकार संचालन गर्नको लागि प्रारम्भिक अध्ययन भैसकेको र आगामी आर्थिक वर्षमा लगानीकर्ताहरुको खोजी गरी काम सुरु गरिने भएको छ । बज्रवाराहीमा थाहा संग्राहलय र चित्लाङमा पर्यटन सूचना केन्द्र निर्माण गरिने भएको छ ।

पर्यटकहरुलाई सहज ढंगबाट थाहा नगरपालिका आवागमनको लागि चित्लाङ चन्द्रागिरी सडक र कुन्छाल कुलेखानी सडकको स्तरोन्नती गरी कालोपत्रे गर्ने कार्य शुरु भएकोमा पूर्णता दिन संघ तथा प्रदेश सरकार समक्ष पहल गरिने नगरपालिकाले जनाएको छ ।

त्रिभूवनराजपथको मर्मत संभार गरिने, पर्यटकहरुलाई गाइड गर्न पर्यटक गाइडको तालिम संचालन गरिने, पर्यटकहरुलाई थाहानगर घुमफिर गराउनको लागि ट्राभल एजेन्सीहरुलाई आकर्षित गराउन ट्राभल एजेन्सीहरुको सम्मेलन गराइने, र पर्यटकहरुका लागि स्थानीय तथा घरेलु उत्पादन बिक्रि वितरणको लागि कोशेली घरको निर्माण तथा संचालनमा अनुदान उपलब्ध गराइने भएको छ ।

मुख्य मुख्य पर्यटकीय क्षेत्रमा थप सुरक्षाको व्यवस्था मिलाउन नगर प्रहरीको व्यवस्था गरिने भएको छ । पर्यटकहरुलाई मुख्य–मुख्य भ्यू प्वाइन्टहरुमा बिश्राम स्थल सहितको पूर्वाधार निर्माण कार्य अगाडि बढाइने भएको छ । थाहानगरमा आउने पर्यटकको रेकर्ड अपडेट गर्नको होटल एशोसियन तथा पर्यटन व्यवशायीहरुसंग सहकार्य गरिने भएको छ ।

संचालनमा रहेका होमस्टेहरु अभिलेखीकरण गरी मापदण्ड रहेको पाइएमा त्यस्ता होमस्टेहरुलाई होटल रेष्टुरेन्ट र रिसोर्टको रुपमा परिवर्तन गरी कार्याविधि निर्माण गरी करको दायरामा ल्याइनुका साथै संचालनमा रहेका होमस्टेहरुको थप प्रवर्धन र विकास गरिने भएको छ ।

नगरमा एग्रोटुरिजम विकास गर्ने उद्देश्यसहित कार्यक्रम अघि बढाइने भएको छ । वडा नम्वर ८ को सप्तकन्या गुफा, हाँडी दह, बाथानचुलीको भग्नावशेष दरबार, वडा नम्वर ११ को नर्बे ढुङ्गाको प्रचारप्रसार तथा विकास गरिने भएको छ । महांकाल, लाली गुराँस र सुनगाभा पैदलमार्गलाई प्रवद्र्धन गरिने र पर्यटन प्रवर्धनका लागि मूर्तिकला, हस्तकलामा आधारित  कार्य संचालन गरिने भएको छ ।

अशोक कालिन चैत्य, लक्ष्मीप्रसाद चौतारो, लिच्छवीकालिन शिलालेख ऐतिहाँसिक दरबारहरु, गुम्बा र मठमन्दिरहरु संरक्षण तथा प्रवर्धन गरिने भएको छ । संभावित पर्यटकीय स्थलको पहिचान गरी त्यस्ता क्षेत्रहरुको विकास गर्न निजी क्षेत्रलाई लिजमा दिइने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*