भीमफेदी कुलेखानी सडक भाँसियो, ठाउँठाउँमा पहिरो (हेर्नुहोस् भिडियो )

तु खबर संवाददाता
२०७७ असार १२,शुक्रबार १८:५७
Featured Video Play Icon

भीमफेदी, मकवानपुर । भीमफेदी कुलेखानी सडकमा विभिन्न स्थानमा पहिरो गएपछि सवारी अवरुद्ध भएको छ । हेटौंडादेखि संघीय राजधानी काठमाडौँ जाने छोटो दुरीको सडक मार्गको भीमफेदी कुलेखानी खण्डको बिभिन्न स्थानमा हिजोसाँझदेखि झरेको पहिरो आज दिनभरि पनि पन्छाउन सकिएको छैन ।

भीमफेदी कुलेखानी सडक स्तरोन्नति गर्न ३२ करोडको ठेक्का सम्झौता भएपछि निर्माण कम्पनीले जहिँतहीँ मेसिन प्रयोग गरी पहाड खोस्रेर मात्तै छोडिदिएपछि अहिले वर्षामा सो सडक भएर हिड्नै नसक्ने अवस्था बनेको हो ।

राजनीतिक घोषणाका आधारमा काठमाडौँ जाने सडक चौडा पार्ने काम भएको हो । अव्यस्थित रुपमा जहाँसुकै खनेर पहाड भत्काउने काम गरिएपछि अहिले सो सडकमा दशौँ ठाउँमा पहिरो खसेको छ । त्यतिमात्र होइन, जुरीखेतनजिक सडक भाँसिएपछि त्यसले झनै समस्या पार्ने देखिएको छ ।

मकवानपुर र आसपासका जिल्लाबाट संघीय राजधानी काठमाडौँ जानेहरु सो सडकका कारण समस्यामा परेका छन् । प्रदेशसभा सदस्यहरुले सडक गतिलो नभएको र काठमाडौंबाट आउन समस्या परेको भनी प्रदेश सरकारमाथि बढाएको दबाब शान्त पार्न भीमफेदी कुलेखानी सडक चौडा पार्ने निर्णय भएको थियो ।

सो सडक चौडा पार्न पहाड फोर्नेलगायतका कार्य गर्न एक्साभेटर, डोजर जस्ता मेसिनहरुको प्रयोग गरिएपछि वर्षामा यसले समस्या बनाएको हो । जुन सुकै ठाउँमा पनि मेसिन प्रयोग गरी पहाड फोरिएको छ, जसका कारण अहिले ठाउँठाउँमा पहिरो खसेको छ र यसले सर्वसाधारणमाथि जोखिम बढाएको छ, स्थानीयहरुको भनाई छ ।

सो सडक स्तरउन्नति गर्नका लागि मोतिदान कन्ट्रक्सनले जिम्मेवारी पाएको थियो ।

हेर्नुहोस् भिडियो –


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*