मकवानपुरका १० स्थानीय तह – नीति तथा कार्यक्रम र अनुमानित बजेट यस्तो

बलराम पुडासैनी
२०७७ असार ११,बिहीबार ०९:५५

मकवानपुर । मकवानपुरका ९ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष ०७७/७८ को लागि अनुमानित बजेट, वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।

हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका र ७ वटा गाउँपालिकाले हिजो बुधबार अनुमानित बजेट , नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । बागमती गाउँपालिकाले भने असार २० गते मात्रै सार्वजनिक गर्ने गाउँपालिकाका अध्यक्ष सर्केश घलानले जानकारी दिएका छन् ।

आगामी आवको लागि हेटौँडा उपमहानगरपालिकाले सबैभन्दा धेरै २ अर्ब ८ करोड ६६ लाख ३३ हजारको बजेट सार्वजनिक गरेको छ भने सबैभन्दा कम कैलाश गाउँपालिकाले ४३ करोड ७२ लाख ५९ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको हकमा भने सबैभन्दा धेरै मनहरी गाउँपालिकाले ७६ करोड १६ लाख ३५ हजारको बजेट सार्वजनिक गरको छ ।

नीति तथा कार्यक्रम मिल्दाजुल्दा

९ वटै स्थानीय तहले सार्वजनिक गरेको नीति तथा कार्यक्रम मिल्दाजुल्दा छन् । कृषककालागि कृषि उत्पादन तथा पशुपालनमा प्रोत्साहन गरिने, आधुनिक कृषि औजार तथा उपकरण वितरण गरिने, मल तथा विउविजन उपलब्ध गराइने, कृषि अनुदान वितरण गरिने र उत्पादित कृषि उपजका लागि बजार व्यवस्थापन गरिनेलगायतका योजना मिल्दाजुल्दा छन् ।

भौतिक पूर्वाधार विकासको कार्यक्रमलाई स्थानीय तहले प्राथमिकता दिएका छन् । सडक सञ्जालको विस्तार, सडक मर्मत, स्ल्याब ढलान, कालोपत्रे, कुल कुलेशो, ढल, विभिन्न प्रयोजनका भवन निर्माण गरिने भएको छ । त्यसैगरी पर्यटन प्रवद्र्धनका कार्यक्रम, घरघरमा खानेपानी धारा जडान गरिने, ग्रामिण विद्युतिकरण जस्ता कार्यक्रमलाई स्थानीय तहले प्राथमिकता दिएका छन् । सामाजिक क्षेत्रमा पनि विशेष बजेट व्यवस्थापन गरिएको छ ।

शिक्षामा सबैको पहुँच पुगोस भन्नका लागि सामुदायिक विद्यालयको स्तरउन्नती गरिने भएको छ । विशेषगरी स्वास्थ्य क्षेत्रमा उल्लेखनिय काम हुने अपेक्षा गरिएको छ । सामुदायिक स्वास्थ्य संस्थाको भनव निर्माणको काम अघि बढीसकेको छ ।

चालु आव ०७६/७७ का पछिल्लो ३ महिना स्थानीय तहले महामारीको रुपमा फैलिरहेको कारोना भाइरस (कोभिड -१९ ) को नियन्त्रण र रोकथामका लागि विभिन्न कामहरु गरेका छन् । हेटौँडा उपमहानगरपालिकामा रहेको हेटौँडा अस्पतालको स्तर उन्नती गरिने र मकवानपुरगढी गाउँपालिकामा २५ शैयाको अस्पताल निर्माण गरिनेसमेतका योजना सार्वजनिक भएका छन् । क्षमता अभिबृद्धि, शुशासन, नेतृत्व विकासलगायतका तालिम तथा गोष्ठीहरु संचालन गरिने योजना अटेका छन् ।

सुरक्षा तथा संरक्षण, युवा तथा खेलकुद, भाषा तथा संस्कृति, लैगिंक समानता तथा सामाजिक समावेशिकरण लगायतका विषयहरु स्थानीय तहको नीति कार्यक्रममा छन् ।

हेटौँडा उपमहानगरपालिका

हेटौँडा उपमहानगरपालिकाले २ अर्ब ८ करोड ६६ लाख ३३ हजारको बजेट सार्वजनिक गरेको छ । उपमहानगरले ढल व्यवस्थापन, सरसफाई, विपद व्यवस्थापनका लागि ४ करोड, ७१ लाख रुपैयाँ, संस्थागत सेवा र सुशासनका लागि ३ करोड ५४ लाख रुपैयाँ विनियोजन गरेको छ । उपमहानगरले कार्यालय सञ्चालन तथा प्रशासनिक तर्फ २३ करोड १४ लाख रुपैयाँ खर्चको अनुमान गरेको छ ।

त्यसैगरी कृषि प्रवद्र्धनका लागि २ करोड रकम विनियोजन भएको छ । संक्रमण रोग रोकथाम र नियन्त्रण तथा उपचार अन्तर्गत उपमहानगरवासीको कोरोना संक्रमणबाट मृत्यु भएमा उनको परिवारलाई राहत स्वरुप ३ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

त्यसैगरी संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फ ८ वटा शीर्षकमा कूल ३ करोड ५४ लाख ४५ हजार २ सय रुपैँया विनियोजन भएको छ ।  सामाजिक विकासतर्फ ७२ करोड, ७४ लाख, ७९ हजार र पूर्वाधार विकासतर्फ १ अर्ब ३ करोड २६ लाख १० हजार ७ सय रकम विनियोजन गरिएको छ ।

थाहा नगरपालिका

थाहा नगरपालिकाले आगामी आवको लागि ८० करोड ५६ लाख ३३ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ । बुधबार बसेको नगरसभाले वार्षिक नीति तथा कार्यक्रम पारित गरेको नगरपालिकाका प्रमुख लवशेर विष्टले जानकारी दिएका छन् । पर्यटन प्रर्वद्धनलाई प्राथमिकता दिइएको छ भने कृषि उत्पादन तथा पशुपालन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगारलगायतका क्षेत्रहरु प्राथमिकतामा परेका छन् ।

उत्पादिन भएका कृषि उपजको बजार व्यवस्थापन गरिने भएको छ । आयात घटाउने र निर्यात बढाउने आत्म निर्भरतासहितको नीति सार्वजनिक गरेको छ ।

थाहानगरमा संघीय सरकारको प्रधानमन्त्री कृषि जोन परियोजना पनि कार्यान्वयनमा रहेको छ ।
अर्को नगरसभा बैठक असार १९ गते बस्ने र सोही बैठकबाट आगामी आवको बजेट पास हुने नगर प्रमुख विष्टको भनाई छ ।

राक्सिराङ गाउँपालिका

राक्सिराङ गाउँपालिकाले आगामी आवको लागि कूल ५१ करोड १५ लाख, २० हजार २ सय ७७ रुपैँयाको अनुमानित बजेट सार्वजनिक गरेको छ ।

संघीय सरकारबाट ३६ करोड ७० लाख ९७ हजार २ सय ७७, प्रदेश सरकारबाट ८ करोड २७ लाख ३३ हजार प्राप्त हुने र स्थानीय स्रोतबाट ३ करोड ३२ लाख संकलन हुने अनुमान गरेर आगामी आवको अनुमानित बजेट सार्वजनिक गरिएको प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले बताएका छन् ।

वार्षिक नीति तथा कार्यक्रममा कृषि, खानेपानी, सडक पूर्वाधार, ग्रामिण विद्युतिकरण, शिक्षा, स्वास्थ्य, रोजगार र पर्यटनलगायतका क्षेत्रलाई प्राथमिकता दिइएको छ ।

 

कैलाश गाउँपालिका

फाइल तस्वीर

कैलाश गाउँपालिकाले आगामी आवको लागि कूल ४३ करोड ७२ लाख ५९ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिका अध्यक्ष टंक मोक्तानका अनुसार वार्षिक नीति कार्यक्रममा भौतिक पूर्वाधार, खानेपानी, सडक सञ्जाल, आर्थिक विकास, कृषि र स्वरोजगारलाई प्राथमिकता दिइएको छ ।

गाउँपालिकाले किसानलाई मलमा प्रतिकेजी २ रुपैँया अनुदान दिने भएको छ । शिक्षा र स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकतामा दिइने छ ।

भीमफेदी गाउँपालिका

तस्वीर – सुरेन्द थिके

भीमफेदी गाउँपालिकाले आगामी आवको लागि कूल ५६ करोड ८७ लाखको अनुमानित बजेट सार्वजनिक गरेको छ ।

पूर्वाधार विकासको लागि १६ करोड, शुशासनतर्फ ६७ लाख, आर्थिक विकासतर्फ ४ करोड ६६ लाख, सामाजिक विकासमा ५ करोड, बन तथा वातावरणमा १ करोड ६४ लाख रुपैँया विनियोजन गरिएको
छ ।

‘महामारीले सबै युवा गाउँघर, बाँझो जमिन बनाऔँ उर्भर’ भन्ने मूल नाराका साथ आगामी आवमा रोजगारी सिर्जना, कृषि, पशुपालन, स्वास्थ्य र भौतिक पूर्वाधारलाई विशेष प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष हिदम लामाले बताका छन् ।

घरघरमा खानेपानी पुर्याइने देखि निशुल्क युरिया मल वितरण गरिने योजना भीमफेदी गाउँपालिकाको छ ।

इन्द्रसरोवर गाउँपालिका

तस्वीर : मन्जरी बलामी

इन्द्रसरोवर गाउँपालिकाले आगामी आवको लागि ५० करोडको हाराहारीमा अनुमानित बजेट सार्वजनिक गरेको जनाएको छ ।

गाउँपालिकाले कृषि र पर्यटनलाई रोजगारसंग जोडेर नीति कार्यक्रम ल्याएको छ । कृषि क्षेत्रमा विभिन्न रोजगारमुखी कार्यक्रम निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष जीवन लामाले जानकारी दिए ।

विभिन्न पकेट क्षेत्र निर्धारण गरेर कृषि उत्पादन बृद्धि गर्ने र वैदेशिक रोजगारीबाट फर्केकाहरुलाई स्वरोजगार बनाउने खालको बजेट निर्माण गरिएको अध्यक्ष लामाले जानकारी दिए ।

बकैया गाउँपालिका

बकैया गाउँपालिकाले आगामी आवको लागि कूल ६५ करोड १९ लाख ६९ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ । वार्षिक नीति तथा कार्यक्रममा गाउँपालिका स्तरीय प्रज्ञा प्रतिष्ठान गठन गर्ने प्रस्ताव गरिएको छ ।

साहित्यको उन्नयन र विकासका लागि केन्द्रमा नेपाल प्रज्ञा प्रतिष्ठान रहेजस्तै गाउँपालिका स्तरमा गाउँ प्रज्ञा प्रतिष्ठान गठन गर्ने प्रस्ताव गरिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनीले जानकारी दिएका छन् ।

त्यसैगरी कार्यक्रम तथा बजेटको आय व्यव विवरण सबैले देख्ने गरी सार्वजनिक स्थानमा टाँस गर्ने प्रस्ताव पनि गरिएको छ । खरको छानामुक्त गाउँपालिका निर्माणका लागि विपन्न वर्ग, द्वन्द्वपीडित, सहीद परिवार र सिमान्तकृत परिवारलाई प्राथमिकतामा राखेर जस्ताको छाना छाउने प्रयोजनका लागि अनुदान व्यवस्था गरिएको प्रस्ताव समेत गरिएको उपाध्यक्ष सरला बोलखेले बताईन् ।

बकैया २ धियालमा रहेको यूरेनियम खानीको उत्खनन तथा परिक्षणका लागि प्रदेश र केन्द्र सरकारसँग समन्वयन गरिने प्रस्ताव पनि नीति तथा कार्यक्रममा गरिएको छ ।

गाउँपालिकाभित्र अब निर्माण हुने घर संरचनालाई व्यवस्थित बनाउन भवन संहिता तथा भवन सम्बन्धी मापदंड प्रचलनमा ल्याउने तयारी गरिएको अध्यक्ष दामोदर खनालले जानकारी दिए ।

मनहरी गाउँपालिका

मनहरी गाउँपालिकाले सबैभन्दा धेरै ७६ करोड १६ लाख ३५ हजार ४ सय २० रुपैँयाको अनुमानित बजेट सार्वजनिक गरेको छ ।

उक्त विनियोजित रकम खर्च गर्नको लागि नेपाल सरकार वित्तिय समानिकरणबाट रु १२ करोड ५५ लाख, बागमती प्रदेश सरकार वित्तिय समानिकरण अनुदानबाट रु १ करोड ३८ लाख ४ हजार, नेपाल सरकार सशर्त अनुदानबाट १८ करोड ४४ लाख, बागमती प्रदेश सशर्त अनुदानबाट २ करोड ५४ लाख ५५ हजार, राजश्वको स्रोत बाँडफाँडबाट १५ करोड ६३ लाख ९६ हजार ४ सय २० प्राप्त हुने गाउँपालिकाले अनुमान गरेको छ ।

त्यसैगरी बन रोयल्टीबाट ५० लाख, अन्य सशर्त अनुदान, सामाजिक सुरक्षा रकम तथा आन्तरिक राजश्व परिचालनबाट २५ करोड ४५ लाख प्राप्त हुने अनुमान गरीएको छ ।

आगामी आवमा विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणको जोखिमबाट बच्न उच्च प्राथमिकताका साथ स्वास्थ्य क्षेत्रका कामहरु गरिने गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताएका छन् ।

आर्थिक, सामाजिक, भौतिक तथा मानविय विकासका गतिविधिहरु सम्पादन गरी मनहरी गाउँपालिकालार्य सक्षम र समृद्ध बनाइने योजना नीति तथा कार्यक्रममा उल्लेख छ ।

 

मकवानपुरगढी गाउँपालिका

मकवानपुरगढी गाउँपालिकाले आगामी आवको लागि कूल ५९ करोड ७५ लाख ७ हजार रुपैँयाको अनुमानित बजेट सार्वजनिक गरेको छ ।

आयतर्फ संघीय सरकार र प्रदेश सरकार वितिय समानिकरण अनुदान १० करोड ९० लाख ५८ हजार प्राप्त भएको, राजस्व बाँडफाँड तर्फ १६ करोड ११ लाख ५९ हजार प्राप्त हुने अनुमान, अर्कोतर्फ आन्तरिक आयतर्फ २ करोड ९१ लख ३० हजार प्राप्त हुने अनुमान, त्यसैगरि संघीय र प्रदेश सरकार शर्सत अनुदान २२ करोड ५ लाख ६० हजार हुने अनुमान, समपुरक अनुदान ५ करोड, विषेश अनुदान रकम २ करोड ७६ लाख प्राप्त हुने अनुमान सहितको विवरण पेश गरिएको छ ।

त्यस्तै, व्ययतर्फ कुल बजेटको पुजीँगततर्फ ३२ करोड ६९ लाख ४७ हजार ९५४.७१ प्रतिशत र चालुतर्फ २७ करोड ५ लाख ६० हजार ९४५.२९ प्रतिशत गरी ५९ करोड ७५ लाख ७ हजारको अनुमानित आयव्यय पेश गरिएको थियो ।

कृषि क्षेत्रमा २ करोड ६४ लाख, उद्योगमा ६५ लाख, पर्यटनमा १ करोड १४ लाख, सहकारीमा ६६ लाख, जलस्रोत र सिचाईमा २ करोड २२ लाख, पशुपक्षीं विकासमा २ करोड ७४ लाख, भुमि व्यवस्थामा ४५ लाख रकम विनियोजित गरिएको छ ।

कार्यालय सञ्चालन तथा प्रशाशनिक खर्च ५ करोड ८० लाख, पूर्वाधार विकास क्षेत्रको यातायात पूर्वाधारमा १४ करोड ४२ लाख,भवन आवास तथा शहरी विकासमा ८८ लाख ५० हजार, उर्जामा २६ लाख ५५ हजार, सञ्चार तथा सुचनामा ८ लाख, विज्ञान र प्रविधिमा ५ लाख रकम विनियोजित गरिएको छ ।

सामाजिक विकास क्षेत्रमा कुल बजेटको ४३।३० प्रतिशत जुन २५ करोड ८७ लाख ४३ हजार रकम रहनेछ ।

 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*