हेटौंडा उपमहानगरपालिकाद्वारा मकवानपुरका १ सय ६३ पत्रकारको बीमा
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले मकवानपुरमा कार्यरत १ सय ६३ जना पत्रकारको जनही १ लाखको कोरोना सम्बन्धी बीमा र जनही २ लाखको दूर्घटना बीमा गरिदिएको छ ।
एभरेष्ट इस्योरेन्स हेटौंडामा पत्रकारहरुको बीमा गरिएको र सो सम्बन्धी पोलिसी पेपर आज मंगलबार मेयर हरिबोल महतले पत्रकार महासंघ मकवानपुरलाई हस्तान्तरण गरेका छन् ।
अग्रस्थानमा रही सूचना संकलनमा क्रियाशील हुने पत्रकारहरुको जोखिम बढी भएकोले उपमहानगरपालिकाले बीमा गरिदिएको पोलिसी हस्तान्तरण गरेपछि मेयर महतले जानकारी दिए ।
मेयर महतले नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईँ, कोषाध्यक्ष सुदीप शिवाकोटी, सहसचिव धमेन्द्र दाहाल, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताप बिष्टलाई बीमा पोलिसी हस्तान्तरण गरेका हुन् । कार्यक्रममा पत्रकार महासंघ बागमतीका सल्लाहकार गिरिजा अधिकारी लगायतका पत्रकारहरुको उपस्थिति थियो ।
