हेटौंडाको मणि खाद्यान्न सेन्टरमा अनुगमन, २५ केजीको जगत चामलमा आधा केजीसम्म कम, उपभोक्तामाथि ठगी गरिएको पुष्टि
मकवानपुर । हेटौंडाको मणि खाद्यन्न सेन्टरमा चामलको बोरामा आधा किलोसम्म तौल कम भएको पाइएको छ । २५ केजीको बोराको तौल लिँदा आधा किलोसम्म कम भएको पाइएको हो ।
क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाको नेतृत्वमा भएको बजार अनुगमनका क्रममा टोली सो खाद्यन्न सेन्टरमा पुगेको थियो । घरेलु तथा साना उद्योग कार्यालय, उपभोक्ताकर्मी बासु खतिवडा, कृष्ण अर्यालसम्मिलित टोलीले पसलहरुको अनुगमन गर्ने क्रममा हेटौंडा उपमहानगरपालिका वडा नं. २ प्रभाकरपथमा रहेको सो खाद्यन्नले बिक्री गर्ने जगत ब्रण्डको २५ केजीको बोराहरु जोखेर हेर्दा अधिकतम् आधा किलोसम्म कम भेटिएको हो ।
उपभोक्ता हीत संरक्षण मञ्चका अध्यक्ष बासु खतिवडाले दिएको जानकारी अनुसार, चामलको बोरा तौल लिई हेर्दा आधा किलोसम्म कम भेटिएको हो । चालमको बोरा हामीले तौल गर्यौँ, २५ केजी हुनुपर्नेमा आधा किलोसम्म कम भएको भेट्यौ, खतिवडाले तु खबरसँग भने ।
कोरोना संक्रमणका त्रासका कारण सरकारले लकडाउन गरेको छ । यस्तो बेला उपभोक्तालाई सहजीकरण गरी सर्वसुलभ मुल्यमा खाद्य सामग्री विक्री गर्नुपर्नेमा मकवानपुर उद्योग बाणिज्य संघको सचिव समेत रहेका व्यवसायी काब्यमणि अधिकारीकै खाद्यन्न सेन्टरबाट विक्री हुने चामलबाटै उपभोक्तामाथि ठगी भइरहेको पाइएको हो ।
सो सेन्टरमा अन्य चालमका बोराहरु पनि मुखमा बारम्बार सिलाई गरिएको अवस्थामा भेटिएको छ । यस विषयमा अुनगमन टोलीले जिज्ञासा राख्दा उनले मुसाले काटेको कारण चामलको बोरा पनुः सिलाई गरिएको बताएका छन् । अनुगमन टोलीले मुसाले नै काटेको हो र पुनः सिलाई गरिएको हो भने पनि तौल गरेर २५ केजी पुर्याएर मात्रै सिलाई गर्नुपर्छ नि भनेपछि अधिकारी केही बोलेनन् ।
अहिले सो पसललाई सिल गर्ने कि जरिवाना मात्र गरेर छोड्ने भन्ने विषयमा निर्णय हुँदैछ ।
यसअघि पनि चामल, दाल विक्री गर्ने खाद्यन्न व्यवसायीहरुले गत २२ गते एक्कासी मुल्यवृद्धि गरेका थिए । लकडाउनको मौका छोपेर उनीहरुले चामल, दाललगायतका खाद्य बस्तुमा मुल्यवृद्धि गरेका हुन् ।
आज सो अनुगमन टोलीले हेटौंडा बजारका अन्य पसलहरुमा पनि अनुगमन गरिरहेको छ ।
