सिरियामा ट्रक बम आक्रमण हुँदा कम्तीमा ४६ जनाको मृत्यु
बेरुत । द्वन्द्वग्रस्त सिरियाको उत्तरी क्षेत्रको एक बजारमा इन्धन बोक्ने ट्रकमा बिस्फोटक पदार्थ राखेर बिस्फोट गराउँदा कम्तीमा ४६ जनाको मृत्यु भएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ ।
टर्की समर्थित लडाकूहरुको नियन्त्रणमा रहेको अफ्रिन नामको शहरमा उक्त बिस्फोट गराइएको हो ।
अमेरिकी विदेश मन्त्रालयले पनि रमादानका लागि सामान खरिद गर्न बजारमा मानिसहरु भेला भएको अवस्थामा बिस्फोट गराइएको जनाएको छ ।
बेलायतमा मुख्यालय रहेको अब्जरभेटरीका प्रमुख रामी अब्दुल रहमानले उक्त आक्रमणबाट कम्तीमा ४६ जनाको मृत्यु भएको र ५० जना घाइते भएको बताए । उनले मृतकको संख्या अझै बढ्न सक्ने जानकारी दिए । एजेन्सी
