सकारात्मक काम गर्न खोज्दा सबैले सहयोग गरे गाउँ बन्छ

२०७६ चैत्र ८,शनिबार १७:०२

मकवानपुरको राक्सिराङ् गाउँपालिका विकट क्षेत्र मात्र होइन, दुरीको हिसाबले सदरमुकामसँग नजिक भएपनि विगतदेखि पिछडिएको भूभाग हो । यस क्षेत्रको विकास र समृद्धका लागि स्थानीय तह पुनर्संरचना हुनु अगावैदेखि निकै प्रयास गरेपनि सदैव पछिपरेको थियो । जिल्लाको पश्चिमी व्यापारिक केन्द्रसँग जोडिएको राक्सिराङ्का अधिकांश जनता अहिलेपनि गरिबीको रेखामा छन् । गाउँपालिका गठनपछि स्थानीय तहको निर्वाचनबाट चुनिएका अध्यक्ष राजकुमार मल्ल यस्ता विविध समस्या समाधानका लागि निरन्तर खटिरहेका छन् । गाउँपालिकाको समग्र विकास, जनताका चासो र गुनासोलाई समाधान गर्दै अघि बढ्ने प्रयासमा जुटेका अध्यक्ष मल्लसँग तु–खबरका समाचार प्रमुख बलराम पुडासैनीले गरेको कुराकानी ।

प्रश्न – भौगोलिक रुपमा विकट राक्सिराङ् गाउँपालिकाको नेतृत्व सम्हालिरहनुभएको छ, समग्र विकासमा अहिलेसम्म के–के गर्नुभयो ?

उत्तर– धन्यवाद, संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको अवधारणा बनेपछि मकवानपुर जिल्लाको साविकको सरिखेत, काँकडा, खैराङ् र राक्सिराङ् गाविस मिलेर राक्सिराङ् गाउँपालिका बनेको हो । गाउँपालिकाको क्षेत्रफल २ सय २६ वर्ग किलोमिटर छ । चितवनको राप्ती नगरपालिकासँग जोडिएको, पूर्वमा हेटौँडा उपमहानगपालिका साथै उत्तरमा कैलाश गाउँपालिका र दक्षिणमा मनहरी गाउँपालिकासँग जोडिएको यस गाउँपालिकामा ५२ प्रतिशत तामाङ् समुदाय र ३७ प्रतिशत चेपाङ्सहित अन्य जातका मानिसहरु छन् । संघीय संरचना बनेपछि धेरै जनताहरुको इच्छा आकांक्षा यहाँको समग्र विकास हुनेमा थियो । किनभने यहाँको समस्याले जनता विकास चाहन्थे ।

विकासका लागि धेरै प्रयास अघि बढाएपनि प्रमुख पूर्वाधार सडक नहुँदा निकै समस्या परेको थियो । त्यसकारण यस क्षेत्रमा बाटोघाटोको विकास प्राथमिकतामा राखियो । राजमार्गबाट चैनपुरसम्म जोडिने बाटोहरु थिएनन् । यहाँबाट १२/१३ घण्टाको बाटो भारी बोकेर हिड्नुपर्ने, खोलामा डुब्नुपर्ने समस्या भोगिरहेका यस गाउँपालिकाबासी हामी निर्वाचित भएर आइसकेपछि कसरी अगाडि बढाउने र भोगिरहेको समस्याबाट मुक्त हुने भन्ने विषयमा स्थानीय जनताहरुसँग अन्तक्र्रिया गरी सबैभन्दा पहिला बाटोको विकासतर्फ एकजुट भयौं ।

मोटर बाटोको अवधारणा अन्तर्गत पहिला चैनपुरमा बाटो पुर्यायौं । बर्खामा पानीले समस्या निम्त्याउँछ नत्र यस बाटोले निकै सहजता थपेको छ । जस्तै वडा कार्यालय काँकडातर्फ साविकको ६, ७ र ८ नम्बर वडा पर्दछ । जुन धिराङ, दाङ्राङ्सँग जोडिएको चितवनको राप्ती नगपालिका र रोराङ गाउँपालिकासम्म बोटो खन्ने तयारी गरेका छौं । अहिले करिब–करिब गर्लिङ्सम्म बाटो पुग्यो भने यस वर्ष धियानसम्म बाटो पुर्याउने हाम्रो लक्ष्य छ ।

चैनपुरबाट सरिखेत गाविसका जुन ३, २ र १ नम्बरहुँदै ग्यालसलानटार, कुपिनटार र भूमेथुमसम्म र सानुभावरहुँदै नेवारपानी जाने बाटो जोड्यौँ । त्यस्तै हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ र कैलाश गाउँपालिकासँग जोडिएको भुमेथुममा पनि बाटो पुग्यो । अर्को मलेखु जोड्ने मनहरी, चैनपुर, साइचोर खैराङ हुँदै मलेखु जोड्ने जुन अवधारण ल्याएको छ जुन ४ र ९ नम्बर वडा पर्दछ । अहिले हामीले त्यो बाटो जोड्ने काम गरिरहेका छौँ ।

रोराङ् गाउँपालिकाको ताल्तिबाट रदुवासम्म बाटो जोडिसकेका छौं । यस बाटोको काम अब ९ किलोमिटर मात्र बाँकी छ । त्यस ट्रयाक जोड्नको लागि प्रदेश सरकारबाट ५० लाख, संघीय सरकारबाट विरोध खतिवडाको पहलमा ५० लाख र गाउँपालिकाबाट ९० लाख गरी करिब २ करोडको काम यसपालिका सुरु गरी ट्रयाक जोड्ने भनेर लागिएको तर बन कार्यालयबाट अवरोध भएको कारण काम तिब्र गतिमा अघि बढ्न सकेको छैन ।

त्यसभन्दा पछि खानेपानी, लक्षित वर्गको बजेट, आयआर्जन, विविध शिक्षा, स्वास्थ्य लगायतको कार्यक्रम छ । ती कार्यक्रम यावतरुपमा जाने छ । त्यसमध्ये पनि सबैभन्दा पहिलोमा सडक, दोस्रोमा चेपाङलाई बिजुली भन्ने कार्यक्रम ल्याउँदै छौँ । त्यो बिजुलीको कार्यक्रम चाँही सडक सँगसँगै लैजाने क्रममा छौं । किनभने जहाँ विद्युत पुग्छ, त्यहाँ सडक पुग्छ । जहाँ सडक पुग्छ त्यहाँ साना उद्योगहरु संचालन हुन्छन् ।

राक्सिराङ् गाउँपालिकाका जनताहरुले हामी दुर्गममा जन्मेछौँ, हामी गरिब रहेछौँ, हामी अभागी रहेछौँ भनेर आफूले आफैलाई धिकारेर बस्नुपर्ने अवस्थालाई चिर्न हामीले विकासका काम अघि सारेका हौँ । जुन हाम्रो जिम्मेवारी पनि थियो ।

प्रश्न – स्वास्थ्य समस्या पनि उस्तै छ, राक्सिराङ्बासी उपचार नपाएर मर्नेसम्मको अवस्थामा पुगेका छन्, गुणस्तरीय शिक्षा छैन, गाउँपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि के गरिरहेको छ ?

उत्तर– शिक्षा र स्वास्थ्यको विषयमा भन्नुपर्दा यो विषय जनताको मौलिक हकमा पर्दछ । संघीयतामा सामान्य, माध्यामिक तह र प्राथमिक उपचारको शिक्षा भनेको जनताको मौलिक हक अन्तर्गत व्यवस्था गरिएको छ । जनताको तालि र गाली खानेको भनेको स्थानीय सरकार हो, संघीय सरकारले स्थानीय सरकारलाई अधिकार प्रत्यायोजन नगरिसकेको अवस्था छ । तर हामीले यो दुबै क्षेत्रमा संवेदनशील भएर सोचेका छौँ ।

विगतमा काँकडा स्वास्थ्यचौकी खैराङ, राक्सिराङ् र सरिखेत स्वास्थ्य चौकी थियो । जुन सरिखेत पुग्न १ नम्बरबाट ३ नम्बर वडा पुग्नुपर्ने बाध्यबारी अवस्था थियो । ७/८ घण्टा, खैराङ गाविसको डन्टारमा रहेको स्वास्थ्य चौकीले च्यात्रेमा पुग्न ४ घण्टा, काँकडाको धिरानबाट झुरेथिम आउन ६ घण्टा लाग्ने अवस्थामा स्वास्थ्य चौकी रहेको थियो । अहिले भएको स्थानीय साधन स्रोतलाई हामीले त्यहाँ स्वास्थ्यकर्मीहरु अनिवार्य उपस्थिति हुनुपर्ने, मोबाइल अफिसमा चलाउन नपाउने गरि नियन्त्रण गर्यौँ ।

दोस्रो कुरा गाउँपालिकाले अहिले बिरामीलाई लगाउनुपर्ने स्लाइनपानीको लागि चाहिने सबै सामग्री दिने व्यवस्था गरियो र अर्को कुरा गाउँपालिकाभित्र रहेको ९ वटा वडामा स्वास्थ्य चौकी स्थापना गर्न सफल भएका छौँ ।

जसमा ४ वटा स्वास्थ्य चौकी र ५ वटा स्वास्थ्य इकाई गठन भएको छ । बाँकी ५ वटा स्वास्थ्य इकाईको लागि जग्गा दिइ ६५/६५ लाखमा गाउँपालिकाले टेण्डर दिइसक्यो र यही अर्थिक वर्षभित्र हस्तान्तरण गर्दैछौँ । अहिले हामीले सामाग्री खरिद गरेर कर्मचारीको लागि विज्ञापन निकालेर नियुक्ती पत्र बाँढ्दै छौं । हामीले आकस्मिक महामारी जस्तो डेंगुको महामारी आयो, उक्त महामारी आउला भनेर पहिले नै सचेत गरायौँ ।

किनभने यहाँका जनताहरुलाई रोगसँग मतलब छैन, उनीहरुमा त्यो रोगले मरिन्छ भन्ने डर छैन उनीहरु अशिक्षित छन् । उनीहरुलाई बेलैमा सचेत गराउने गरेका छौँ । प्रतिव्यक्ती ३ हजार दिएर उनीहरुलाई उपचार गर भनेका छौँ ।  हामी निःशुल्क कीट वितरण गर्यौँ । त्यस्तै, अहिले विश्वभर फैलिरहेको कोरोना भाइस संक्रमणबाट बच्न मकवानपुर जिल्लाको कुनैपनि स्थानीय तहका सरकार र प्रदेश सरकारले गर्नु भन्दा अगाडि नै हामीले चेपाङ, चिउरी र चमेरा खाँदा रोग आउन सक्छ भनेर सचेत गराएका छौँ । साबुन पानीले हात धुन लगाउने, मास्क विरतरण गर्ने जस्ता काम हामीले गरेका छौँ । गाउँपालिकाभित्र अण्डा र झण्डाको योजना ल्याएका छौँ ।

यस गाउँपालिकाभित्र सुत्केरी हुन नसकेर धेरै गर्भवती महिलाले ज्यान गुमाउनु परेको छ । त्यसकारण हामीले गाउँपालिकाभित्र जसको घरमा गर्भवती महिला छ त्यस घरमा झण्डा दिएका छौँ । ताकी हामीलाई झण्डा भएको घरमा गर्भवती छ भनेर थाहा होस् । हामीले त्यस घरमा कुपोषणबाट बच्न अण्डा दिने र सुस्केरी भएको बेला २/३ हजारको कुखुराको भाले दिने गरेका छौँ ।

हामीले हालसालै कुपोषणबाट बच्न लिटो खुवाउने कार्यक्रम सुरु गरेका छौँ र अर्को कुरा हामीले आमा–बाबु बचाउ कार्यक्रम पनि सुरु गरेका छौँ । बुढाबुढी बाख्रा गोठालो हिड्नुहुन्छ केही गरी उहाँहरु दीर्घ रोगी भइ ढलिहाल्नुभयो भने उहाँहरुलाई उपचारको लागि हेरचाह गर्ने मान्छे छैन ।

छोराछोरी विदेशमा छन् तर, उहाँहरुले नरकीय जीवन बिताउनु परिरहेको छ । हो त्यस्ताहरुलाई उपचारको लागि हाम्रो पनि कर्तव्य हो भनेर आमाबाबु बचाऔँ कार्यक्रम पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक शिक्षा, प्राविधिक सहयोग र राक्सिराङ् गाउँपालिकाको आर्थिक सहयोगमा हामीले अहिले आमाबाबु कार्यक्रम लागू गर्दैछौँ ।

जुन अहिले राक्सिराङ् गाउँपालिकामानै एउटा फाँट लिएर एक स्वास्थ्य टोली गाउँपालिकाभित्रका कुनैपनि घरमा ६० वर्षभन्दा माथिका बृद्धबृद्धा र दीर्घ रोगका बिरामी छ त्यस्तालाई उपचारको हामीले मोटरसाइकलसहित ल्यापटप दिएर, इन्टरनेटको डिभाइस दिएर उपचार गराउने र स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ र यहाँका स्वास्थ्यकर्मीबीच इन्टरनेटमार्फत सम्पर्क गरी चाँडै रोगको पत्ता लगाई आमाबाबुको उपचार गराउने र त्यसो गर्दासमेत रोग पत्ता नलागे तुरुन्तै उपचारको लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाउने कार्यक्रम सुरु गरेका छौँ ।

हिजोको दिनमा सुत्केरी हुन नसकेर महिलाहरु मर्ने गर्थे । त्यसको न्यूनीकरण गर्नका लागि हामीले प्रदेश सरकारको सहयोग र राक्सिराङ् गाउँपालिकाको व्यवस्थापनमा एम्बुलेन्स खरिद गरेका छौँ । जुन एम्बुलेन्सले अहिले खैराङ्को बिरामी तत्कालै हेटौंडा अस्पताल र भरतपुर अस्पताल पुर्याइदिन्छ । संघीय सरकारले योजनाहरु कटाएको कारण पनि हामीलाई केही समस्या भएको छ । शिक्षाको कुरा गर्दा हामीले जसले बालबच्चा पढाउन सक्दैन हामी पढाउँछौँ ।

उनीहरुले खानाका कारण पढ्न सकेनन्, लाउन नपाएर पढ्न सकेनन् वा के कारणले पढ्न नसकेको हो हामीले पहिचान गरेर त्यसको समाधान गर्ने प्रयास गरेका छौँ । हामीले १२ कक्षामाथि पढेको डाक्टर पढेका विद्यार्थीलाई प्रोत्साहनस्वरुप वार्षिक १ लाख रुपैयाँ दिने गरेका छौँ । अनमी, अहेब पढेकाहरुलाई हामीले छात्रवृत्ती स्वरुप वार्षिक २०/२५ हजार रुपैयाँ दिने गरेका छौँ र हामीले डाक्टर, इन्जिनियर पढेकाहरुलाई वार्षिक १ लाख रुपैयाँ दिने गरेका छौँ । चालु आवबाट राक्सिराङ् गाउँपालिकाका चेपाङ र तामाङ समुदायका कोहीले पनि डाक्टर, इन्जिनियर पढे भने हामीले उनीहरुलाई वार्षिक ५ देखि १० लाख दिने व्यवस्था गर्ने सोच बनाएका छौँ । शिक्षाको विकासमा पनि हामी संवेदनशील
छौँ ।

प्रश्न – चुनावी घोषणापत्रमा यहाँले गर्नुभएको प्रतिबद्धताहरु अहिले कार्यान्वयनको चरण छन् त ?

उत्तर– घोषणापत्र अनुसार अहिले मेरो ७० प्रतिशत काम भइसकेको छ र बाँकी ३० प्रतिशत कामपनि अबको २ वर्षभित्र मेरो कार्यकालमा गर्छु । शिक्षा, स्वास्थ्य, खानेपानी, बाटोघाटो र रोजगारलगायत २२ बुँदे प्रतिबद्धता थियो जसमध्ये मेरो १४/१५ वटा प्रतिबद्धता पुरा भइसकेको छ । बाँकी भएको प्रतिबद्धता अबको २ वर्षभित्र सबै पुरा गरेर, त्यो भन्दा बढी काम गरेर नमुना बनाउछु भन्ने मेरो सोच छ ।

त्यसका लागि अहिले हामीले न ज्वरो भनेका छौँ न अल्छि लाग्यो भनेका छौँ । हामीले एकछीन अल्छि मान्दा राक्सिराङ् गाउँपालिकाका जनता २० वर्षपछि धकेलिने भएकोले दिनरात नभनी जनताको हितमा लागेका छौँ ।

प्रश्न – अन्य राजनीतिक दलको सहयोग सहकार्य छ ?

उत्तर– सहयोग असहयोग दुबै छ । त्यसलाई शिक्षित र अशिक्षित जमातले प्रभाव पार्दो रहेछ । शिक्षितमा त सजिलै छ तर, अशिक्षितमा भावना नबुझ्ने हुँदो रहेछ । सकभर सबैको चित्त बुझाउने प्रयास हामीले गरेका छौँ । हिजोको दिनमा एउटा पार्टीको झण्डा बोकेर चुनाब जित्ने हामीले आज एउटा पार्टी मात्रै नभइ एउटा गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष, वडा सचिव भएर सबैको साझा भएर काम गरेका छौँ ।

त्यसैले हामीले पार्टीभन्दा पनि हिजोको दिनमा कसैलाई वा कुनैपनि पार्टीलाई पक्षपात नगरी काम गछौँ भनेर खाएको कसम संविधान अनुसार पुरा गर्नुपर्छ र गाउँपालिकाभित्र गर्नुपर्ने काम कर्तव्यहरु स्वच्छ भएका गरेका छौं ।
अशिक्षित साथीहरुले पार्टी वा विचारको आधारमा हामीले गर्न लागेको राम्रो काममा अवरोध पनि गरिरहेका छन् । जस्तो बत्ती बलिरहेको ठाउँमा बत्ती बलेन, कुनै ठाउँमा बाटो खनिएन भवन बनेन सबै मिलेर पैसा खाए भन्दै अख्तियारमा उजरी दिन्छन् । तर, त्यसो भएको भने हुँदैन अनि अख्तियार फर्कन्छ ।

मैले चुनाव जित्दा मलाई मुद्दा हाल्ने र अरुले चुनाव जित्दा मैले मुद्दा हाल्ने गर्यौँ भने देश र गाउँ कसरी बन्छ ? गलतको विरोध गर्नुपर्छ तर, सकारात्मक काम गर्न खोज्दा सबैले सहयोग गरे गाउँ बन्छ हामी बन्छौँ । हामी आफै जान्ने हौइनौँ । जान्नलाई प्रतिपक्ष पनि चाहिन्छ । बहुदलीय व्यवस्थाको सिस्टम नै यही हो । तर, प्रतिपक्षले पनि राम्रो कामलाई राम्रो नराम्रो कामलाई नराम्रो भन्नुपर्छ ।

भोली उहाँहरुले गरेको राम्रो कामलाई पनि हामीले राम्रो र नराम्रो कामलाई नराम्रो भन्नुपर्छ । यी दुई पार्टीबीच समन्वय भयो भने राम्रो नराम्रो काम के हो ? भनेर छुट्याउँदै काम गरेर अगाडि बढ्न सक्छौँ, समाजलाई अगाडि बढाउन सक्छौँ ।
उहाँहरु अहिले हाम्रो लागि ऐना बनिदिनु भएको जस्तो लाग्छ मलाई । केही गरी त्रुटी भइहाल्यो भनेपनि संविधान विपरीत केही काम हुँदैन है भन्छु । प्रमुख प्रसाशकीय अधिकृत र कर्मचारीहरुको काममा टाइट गरेको छु । उहाँहरु विधिसँग ठोकिनुभयो भने हामी पारदर्शी हुन्छौँ ।

हामीले त निर्णय गरिदिने हो । खरिद ऐन के हो ? उपभोक्ता समिति ऐन के हो ? यो सबै विधि र ऐन अनुसार हुन्छ । हामी सचेत छौँ ।

प्रश्न – लामो समय स्थानीय तहको नेतृत्व कर्मचारीले गरे, जनप्रतिनिधि निर्वाचित भएर आएपछि जनतालाई प्रवाह हुने सेवामा कसरी सहजता प्रदान गर्नुभएको छ ?

उत्तर– सुशासनको हकमा राक्सिराङ् गाउँपालिकाले बिगतमा भन्दा अहिले जनप्रतिनिधि आएपछि त्यो नहुने त कुरै भएन । किनभने हिजोको दिनमा गाविस सचिवले हेटौंडामा बसेर चार वटा गाविस चलाउँथे, गाउँमा आउँदैन थे । गाउँका नागरिकले सामान्य नागरिकताको लागि सिफारिस लिन पनि पाउँदैन थे, तर अहिल राक्सिराङ् गाउँपालिकाको ९ वटै वडामा वडा कार्यालय खुलेको छ ।

ती सबै वडामा गाउँपालिकाले सोलार जोड्दै छ, केही समय अगाडि वडामा सचिव थिएनन् अहिले आइसके । सुशासनको हकमा राक्सिराङ् गाउँपालिकाका जनताले पहिलेको जस्तो दुःख भोग्नु परेको अवस्था छैन् । अहिलेको अवस्थामा जनताले आफुले नजान्नु, ठाउँ नचिन्नु, एउटा निवेदन पनि लेख्न नआउनु र जन्म दर्ता लिन जाँदा के लिएर जानुपर्छ भन्ने कुरा थाहा नभइ हात र मुख मात्रै लिएर जानु चै आफ्नै गल्ती हो ।

तर, त्यसलाई पनि सम्झाउन र बुझाउन लागि हामीले हेल्पडेक्स राखेका छौं, विभिन्न रेडियो, पत्रपत्रिका, वेभसाइटहरुमा हामीले सूचना जारी गरेका छौं र हामीले विभिन्न तालिम कार्यक्रमहरुको पनि आयोजना गरेका छौं । त्यसकारण सामान्य प्रकृया पनि पुरा नगरी आएकाहरुले दुःख पाएका छन् । तर, प्रकृया पुर्याएर आएकाहरुको हकमा वडादेखि गाउँपालिकामा हामीले काम रोकेका छैनौं । विधि प्रक्रियाहरुलाई व्यवस्थित बनाउँदै छौं ।

अशिक्षा र अज्ञानताको कारण केही समस्या भएको जस्ता भएपनि पहिलेको जस्तो मरिसकेको बाबुको बृद्ध भत्ता सचिवले खाने अवस्था अहिले छैन हामीले बैंकमा खाता खोलेर मात्रै भत्ता दिने व्यवस्था गरेका छौं । राक्सिराङ् गाउँपालिकाका जनताले बृद्धा भत्ताको हकमा मात्रै नभएर हरेक क्षेत्रमा सुशासनको प्रत्याभुती गरेका छन् ।

प्रश्न– कार्यकालको आधाआधि भइसकेको छ, बाँकी कार्यकालमा केके गर्ने योजना बनाउनुभएको छ ?

उत्तर– मेरो आगामी योजना भनेको राक्सिराङ् गाउँपालिकाको वडाहरुमा सडकको ट्रयाक खुल्यो । यसलाई स्तरीकरण गर्ने हो । यसलाई मनहरी–चैनपुरहुँदै खैराङ्–मलेखु जोडिने, एउटा दामनटार–खैराङहुँदै ताकडाभञ्ज्याङ् जोडिने सडक बनाइसकिएको छ ।

त्यसलाई स्तरीकरण गर्न बाँकी छ र चैनपुरबाट नेवारपानी, सुनारी, सैराहा, जुनहीमनिनटार भएर पाल्खोपहुँदै जोडिने सडक र चैनपुर–देवीटार र मानेडाँडा भएर चरिमारा धिरान जाने सडकहरुको स्तरीकरण गर्नु पर्नेछ । राक्सिराङ् गाउँपालिकामा करिब–करिब ७÷८ सय मिटर बाटो बनाइएको छ । ती सबैको स्तरीकरण गर्नुछ ।
राक्सिराङ् गाउँपालिकाका चेपाङ सुमदायका लागि विद्युत प्राधिकरणका महाप्रबन्धक कुलमान घिसिङसँग कुरा गरेर एउटा कार्यक्रम ल्याउँदै छौं र त्यसको साथसाथै राक्सिराङ् गाउँपालिका एउटा स्रोत साधन भएको गाउँपालिकाभित्र पर्दछ ।

यहाँ कृषि पर्यटन पूर्वाधार, राक्सिराङ्को विकासको आधार भन्ने जुन नारा त्यो नै यहाँको सबैभन्दा ठूलो नारा हो । हामीसँग बेमौसमी तरकारी खेती हुने ठाउँ, जडिबुटी हुने ठाउँ, गोदारिङ, मनहरी खोला, लोथर खोलालगायत विभिन्न जलविद्युत उत्पादन हुने ठाउँहरु छन् । त्यस्तै पर्यटनको लागि गुफाहरु, हिमाल देखिने ठाउँ, यहाँबाट चितवनको फाँट देखिन्छ, लालिगुराँस पार्कहरु, विभिन्न जडिबुटीहरु पाउने ठाउँ छन् । त्यसलाई व्यवस्थित र राक्सिराङ् गाउँपालिकामा रहेका तामाङ र चेपाङ समुदायका कल्चरहरुलाई राम्रो किसिमले विकास गर्न सकियो भने भोली भारतका मानिस घुम्न आउने र पैसा खर्च गर्ने ठाउँ भनेकै राक्सिराङ् हो ।

राक्सिराङ्मा पनि डलर झारेर जाने ठाउँहरु छन् । गिट्टी बालुवा खानी क्षेत्र यही छ, ३–४ वटा सिमेन्टले त सर्बे गरिसकेको छ भने रिद्धिसिद्धि सिमेन्टले सुरु गर्न लागिसकेको छ । हामीसँग प्रशस्त जंगल छ, राक्सिराङ् गाउँपालिकामा जमिन, जंगल, पानी र स्थानीय स्रोतहरु छन् । त्यसैले गर्दा यो स्थानीय स्रोतलाई हामीले जब परिचालन गरेर विकास गर्छौं त्यो दिन राक्सिराङ् गाउँपालिकाका जनता गरिब होइन धनी हुनेछन् ।

त्यो दिन देख्न राक्सिराङ् गाउँपालिकालाई २०  वर्ष लाग्छ । मलाई लाग्छ अब हामीबाट सुरुवात भयो । मैले खनेको बाटोबाट यहाँ उत्पादन भएको सामान बिक्री गरेर आगामी २० वर्षमा यहाँका जनता धनी हुनेछन् । त्यो दिन पक्कै आउनेछ भन्ने परिकल्पना मैले लिएको छु ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*