मनाङको जितमा हेटौंडाका तीन खेलाडी निर्णायक

२०७६ चैत्र १,शनिबार १८:५२

हेटौंडा, ०१ चैत्र । हेटौंडाका ३ खेलाडीको निर्णायक भूमिकाले पोखरा रंगशालामा जारी आहा रारा गोल्डकपको उपाधि मनाङ मस्र्याङदीले जितेको छ ।

मनाङले आज शनिवार भएको फाइनलमा विभागीय नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै च्याम्पियन बनेको हो । मनाङले पुलिसको गोलपोष्टमा ४ गोल गर्दा हेटौंडाका अञ्जन विष्ट र रञ्जन विष्टले दुई गालको योगदान गर्नु भयो । अञ्जन र रञ्जन दाजु भाई हुनुहुन्छ ।

मनाङको जितमा अञ्जन र रञ्जनको मात्रै नभई गोलरक्षक अशोक बरालको पनि महत्वपूर्ण भूमिका रह्यो । निर्धारित र थप गरिएको समयमा दुवै टोलीबाट गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा मनाङको गोलपोष्ट बरालले सम्हाल्नु भएको थियो ।

पेनाल्टीमा मनाङका अन्जन र रञ्जनसँगै पुजन उपरकोटी र सुरज विकेले गोल गर्नु भयो । बरालले पुलिसका तेज तामाङको प्रहारलाई उत्कृष्ट बचाउ गर्नु भयो । पुलिसकै अजित भण्डारीले पनि गोल गर्न सक्नु भएन । भण्डारीको प्रहार बारमा लाग्दै फर्किएको थियो ।

निर्धारित खेलको ११ औं मिनेटमा पुलिसका तेज तामाङको कर्नरलाई मनाङका गोलरक्षक बरालले क्लोज रेन्जमा जोगाउँदा पुलिस अग्रता लिन बाट चुकेको थियो । खेलको ३७ औं मिनेटम तेज तामाङको सटिक पासमा बुद्ध बल ढिला हुँदा मनाङका गोलरक्षक बरालले सहजै नियन्त्रणमा लिनु भयो ।

४९औं मिनेटमा पुलिसका निर कुमार राईको प्रहारलाई गोलरक्षक बरालले मुस्किलले बचाउँदा पुलिस अग्रता लिनबाट चुक्यो । हेटौंडाका अञ्जनले पुलिसको गाोलपोष्टमा आधा दर्जन प्रहार गरेपनि गोल हुन भने सकेन ।

मनाङका निशान लिम्बुको पेनाल्टी पुलिसका गोलरक्षक रोशन खड्काले विफल पार्नु भयो । पुलिसका भोलानाथ सिलवाल, हेम तामाङ र बुद्ध बल तामाङले मात्रै गोल गर्नु भयो । यससँगै मनाङ आहा रारा गोल्डकप बढी जित्ने क्लब बनेको छ । मनाङले योसँगै हालसम्म ६ पटका उपाधि जित्न सफल भएको हो ।

मनाङ च्याम्पियन बनेसँगै १० लाख १ हजार रुपैयाँ हात पारेको छ । दोस्रो भएको पुलिसले ५ लाख १ हजार रुपैयामा चिक्त बुझायो । सहारा क्लब पोखराको आयोजनामा गत २२ फागुनबाट शुरु भएको प्रतियोगितामा १० टोलीले सहभागिता जनाएको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*