हेटौंडा–भरतपुर प्रसारण लाइनको ठेक्का भारतीय कम्पनीलाई

तु खबर संवाददाता
२०७६ फाल्गुन ३०,शुक्रबार १५:२४

काठमाडौं, ३० फागुन । नेपाल विद्युत् प्राधिकरणले हेटौंडा–भरतपुर प्रसारण लाइन निर्माणको ठेक्का भारतीय कम्पनी केइसी इन्टरनेसनल लिमिटेडले पाएको छ । प्राधिकरणले यसअघि तोकिएको काम पूरा नगरेपछि ठेक्का सम्झौता खारेज गरेको थियो ।

भारतीय कम्पनी आइकम टेल लिमिटेडको कामको प्रगति सन्तोषजक नभएपछि प्राधिकरणले कम्पनीसँगको ठेक्का गत वैशाखमा तोडेर नयाँ प्रक्रियामा गएको थियो। फेरि भारतीय कम्पनीलाई नै उक्त ठेक्का परेको छ ।

प्राधिकरणले प्रसारण लाइन निर्माणका लागि गत असोजमा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । आयोजनाले केही दिन पहिले ठेकेदार छनोट गरेको जनाइएको छ । सो आयोजना हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गतको आयोजना हो।

कम्पनीले ५४ लाख ३५ हजार अमेरिकी डलर र रु ३६ करोड ८८ लाख ११ हजार (करबाहेक)मा ठेक्का पाएको हो। प्रसारण लाइन निर्माणका लागि पाँच कम्पनीले प्रस्ताव पेश गरेका थिए। कम्पनीले ठेक्का सम्झौता कार्यान्वयनमा आएको १५ महिनाभित्रमा प्रसारण लाइनको निर्माण गरिसक्नुपर्ने कार्यादेश छ।

कूल ७४ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइनमा पर्ने २२६ टावरमध्ये १७३ को जग हालिएको छ। यस्तै, कूल ११९ खडा गरिएको छ भने १६ किलोमिटर क्षेत्रमा मात्रै तार तानिएको छ।

प्रसारण लाइन निर्माणका लागि निजी जग्गा प्राप्ति, वन क्षेत्रको प्रयोगलगायतमा कुनै समस्या नरहेको आयोजनाले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*