कोरोनाभाइरसः ६ करोड मानिसलाई घरमै बस्न निर्देशन

तु खबर संवाददाता
२०७६ फाल्गुन २७, मंगलवार ०९:३९
filr-photo

कोरोना भाइरसका कारण मृत्यु र संक्रमण हुनेको संख्यामा भारी वृद्धि भएपछि इटालीले देशभरी नै आपतकालीन उपायहरु विस्तार गरेको छ ।

इटली सरकारले देशव्यापी रूपमा सार्वजनिक रुपमा भेला हुन प्रतिबन्ध लगाएको छ भने हिँडडुल गर्न समेत कडाइ गरेको छ ।

इटलीका प्रधानमन्त्री जुजेप्पे कोन्टेले सबै नागरिकहरूलाई घरभित्रै बस्न र अत्यावश्यक यात्रा गर्नुपरे अनुमति लिन आग्रह गरेका छन्।

इटलीमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४ सय ६३ पुगेको छ। इटलीमा चीनपछि सर्वाधिक मानिसमा कोरोना संक्रमण तथा मृत्यु भएको छ । इटलीका २० वटै क्षेत्रमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यसअघि संक्रमण फैलिएको लोम्बार्डीसहित अन्य क्षेत्रमा झन्डै एक करोड ६० लाख मानिसलाई अनिवार्य क्वारेन्टाइनमा राखिएको थियो ।

प्रधानमन्त्री कोन्टेले अत्यधिक जोखिममा रहेका मानिसको सुरक्षाका लागि यस्तो कदम चालिएको बताएका छन् । आफ्नो टेलिभिजन सम्बोधनमा उनले भने, ‘अब हामीसँग धेरै समय छैन।’

प्रधानमन्त्री कोन्टेले इटलीको प्रचलन परिवर्तन हुनुपर्ने उल्लेख गर्दै सबै मानिस घरभित्रै रहनु नै उत्तम विकल्प भएको बताए ।

संक्रमण र मृत्यु हुनेको संख्या निकै बढिरहेको बताउँदै उनले भने, ‘हामीले इटलीको राम्रोको निम्ति केही न केही दिनैपर्छ। अब हामीले त्यो गर्नुछ। आपसी सहयोग गर्‍यौँ र अपनाइएका थप उपायहरू पालना गर्‍यौँ भने हामी त्यसमा सक्षम हुनेछौँ।’

इटलीमा देशव्यापी रूपमा फुटबल लगायतका सबै खेल स्थगित गरिएको छ भने ३ अप्रिलसम्म विद्यालय र विश्वविद्यालयहरू बन्द गरिएका छन् । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*