कोरोनाभाइरसः ६ करोड मानिसलाई घरमै बस्न निर्देशन
कोरोना भाइरसका कारण मृत्यु र संक्रमण हुनेको संख्यामा भारी वृद्धि भएपछि इटालीले देशभरी नै आपतकालीन उपायहरु विस्तार गरेको छ ।
इटली सरकारले देशव्यापी रूपमा सार्वजनिक रुपमा भेला हुन प्रतिबन्ध लगाएको छ भने हिँडडुल गर्न समेत कडाइ गरेको छ ।
इटलीका प्रधानमन्त्री जुजेप्पे कोन्टेले सबै नागरिकहरूलाई घरभित्रै बस्न र अत्यावश्यक यात्रा गर्नुपरे अनुमति लिन आग्रह गरेका छन्।
इटलीमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४ सय ६३ पुगेको छ। इटलीमा चीनपछि सर्वाधिक मानिसमा कोरोना संक्रमण तथा मृत्यु भएको छ । इटलीका २० वटै क्षेत्रमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यसअघि संक्रमण फैलिएको लोम्बार्डीसहित अन्य क्षेत्रमा झन्डै एक करोड ६० लाख मानिसलाई अनिवार्य क्वारेन्टाइनमा राखिएको थियो ।
प्रधानमन्त्री कोन्टेले अत्यधिक जोखिममा रहेका मानिसको सुरक्षाका लागि यस्तो कदम चालिएको बताएका छन् । आफ्नो टेलिभिजन सम्बोधनमा उनले भने, ‘अब हामीसँग धेरै समय छैन।’
प्रधानमन्त्री कोन्टेले इटलीको प्रचलन परिवर्तन हुनुपर्ने उल्लेख गर्दै सबै मानिस घरभित्रै रहनु नै उत्तम विकल्प भएको बताए ।
संक्रमण र मृत्यु हुनेको संख्या निकै बढिरहेको बताउँदै उनले भने, ‘हामीले इटलीको राम्रोको निम्ति केही न केही दिनैपर्छ। अब हामीले त्यो गर्नुछ। आपसी सहयोग गर्यौँ र अपनाइएका थप उपायहरू पालना गर्यौँ भने हामी त्यसमा सक्षम हुनेछौँ।’
इटलीमा देशव्यापी रूपमा फुटबल लगायतका सबै खेल स्थगित गरिएको छ भने ३ अप्रिलसम्म विद्यालय र विश्वविद्यालयहरू बन्द गरिएका छन् । एजेन्सी
